Butwal Today

काठमाडौंमा शपथग्रहण चलिरहँदा नेपालगञ्जमा शवयात्रा, जेन-जी बलिदानीको अन्तिम श्रद्धाञ्जली

२८ भाद्र २०८२, शनिबार
अ+
अ-

काठमाडौं,२८ भदौ ।

काठमाडौंमा नयाँ सरकार गठनका प्रयास चलिरहेको बेला शुक्रबार साँझ नेपालगञ्जको दृश्य अलि फरक थियो । बुद्ध एयरको विमान काठमाडौंबाट नेपालगञ्जका लागि उडेको खबरसँगै विमानस्थलमा चहलपहल बढेको थियोv।

नेपालगञ्ज धम्बोझीका श्रेष्ठ परिवारका सदस्यहरू तथा स्थानीय अगुवाहरू विमानस्थल परिसरमा भेला भएका थिए । विमान अवतरण हुनासाथ, राष्ट्रिय झन्डा बाँधिएका दुई मिनी ट्रक धावनमार्गको ढोकासम्म पुगेका थिए ।

विमानबाट ल्याइएका दुई रातो बन्द बाकस एम्बुलेन्समा राखियो । एम्बुलेन्स धावनमार्गबाट निस्केपछि ती बाकसलाई पालैपालो राष्ट्रिय झन्डा बाँधिएका मिनी ट्रकमा राखियो । ती बाकसमा उच्च शिक्षाका लागि काठमाडौं गएका धम्बोझीका दुई युवा, शुलभ श्रेष्ठ र आयुष थापा मगरका पार्थिव शरीर थिए ।

आयुषका बुवा नरेन्द्र र शुलभका आफन्तहरूलाई परिवारका सदस्य, छिमेकी र साथीहरूले सम्हाल्दै घरतर्फ लगे । शुलभका केही आफन्त नेपालगञ्ज आइनसक्दा उनका शव शवगृहमा राखियो । आयुषको शवलाई घर नजिकैको भेरी स्कुल परिसरमा श्रद्धाञ्जलीका लागि राखियो ।

श्रद्धाञ्जली पछि सयौँको उपस्थितिमा मलामीसहित शवलाई सिधनिया घाटमा पुरेर अन्तिम दाह संस्कार गरियो ।

श्रेष्ठ परिवारका छोरा आयुष उच्च शिक्षाका लागि काठमाडौं गएका थिए । मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण र सामाजिक प्लेटफर्म बन्द गर्ने निर्णय फिर्ता गर्न माग गर्दै जेन-जीहरूले आयोजना गरेको प्रदर्शनका क्रममा शुलभ र आयुष गोली लागेर गम्भीर घाइते भएका थिए र उपचारको क्रममा मृत्यु भएको थियो ।

मृत्युको पाँचौं दिन दुवै जनाको शव नेपालगञ्ज ल्याइयो । शव आइपुग्दा नेपालगञ्जबासीमा गहिरो पीडा र आक्रोश थियो । जेन-जी आन्दोलनका क्रममा बलिदान दिएका यी दुई होनहार युवाहरूको चाहना अनुसार भ्रष्टाचारीलाई कारबाही र जनमुखी काम हुनेमा आफन्तहरूमा केही आशंका देखिएको थियो ।

नागरिक समाजका अगुवाहरूले चेतावनी दिएका छन् कि जेन-जीको माग पूरा नभए शोकलाई आक्रोशमा परिणत गरेर थप आन्दोलन गर्नुपर्ने हुन्छ ।

आयुषको शव नगर परिक्रमा गरी सिधनिया घाटमा दाहसंस्कार गरिएको समयमा काठमाडौंमा नयाँ प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहण भइरहेको थियो । जेन-जीहरूको मागअनुसार नयाँ सरकार र संसद विघटनको खबर सुन्दै नेपालगञ्जबासीले उनीहरूलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

आफन्तहरूले चाहेका छन् कि देशमा व्याप्त भ्रष्टाचार अन्त्य होस् र विकास तथा समृद्धिका लागि शुलभ र आयुषजस्ता युवाहरूले ज्यान गुमाउन नपरोस् ।