© २०२३
काठमाडौं, २७ भदौ ।
जेनजीआन्दोलनका क्रममा अर्थ मन्त्रालय मातहतका १४ आन्तरिक राजस्व कार्यालय (आराे) र पाँच भन्सार कार्यालय पूर्णरूपमा जलेर नष्ट भएका छन् ।
अर्थ मन्त्रालयका अनुसार थप चार आन्तरिक राजस्व कार्यालय र चार भन्सार कार्यालयमा आंशिक क्षति पुगेको छ । क्षतिपछि पनि अत्यावश्यक सामान आयातका लागि भन्सार जाँचपास कार्य सुरु गरिएको मन्त्रालयले जनाएको छ ।
आन्तरिक राजस्व कार्यालयहरूमा भौतिक रूपमा राजस्व संकलन गर्न नसकिए पनि अनलाइन प्रणालीमार्फत कर संकलन भने सुचारु गरिएको मन्त्रालयको दाबी छ ।
पूर्ण रूपमा क्षतिग्रस्त आन्तरिक राजस्व कार्यालयहरूमा दमक, इटहरी, विराटनगर, लहान, जनकपुर, सिमरा, हेटौंडा, वीरगञ्ज, बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ, धनगढी, डडेलधुरा र पोखरा पर्छन् । कृष्णनगर, धुलिखेल, इलाम र सिन्धुलीका कार्यालयमा भने आंशिक क्षति पुगेको छ ।
भन्सारतर्फ मेची, भद्रपुर, भैरहवा, कैलाली र जनकपुरका कार्यालय पूर्ण रूपमा जलेका छन् भने विराटनगर, नेपालगञ्ज, भैरहवा र ठाँडीमा आंशिक क्षति पुगेको छ । काठमाडौंस्थित आन्तरिक राजस्व कार्यालय, आन्तरिक राजस्व विभाग र भन्सार विभाग भने सुरक्षित रहेको मन्त्रालयले स्पष्ट पारेको छ ।
भन्सारको अनलाइन प्रणाली ‘आशिकुडा’ र आन्तरिक राजस्वको प्रणाली ‘आईएसपी’ सुरक्षित रहेकाले कर संकलन निरन्तर गर्न सकिने मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेले जानकारी दिए ।
उनका अनुसार अर्थ मन्त्रालयको मूलभवन जोगिए पनि बाहिर रहेको बजेट महाशाखाको एक सानो भवन जलेको छ। साथै, करिब १५ वटा गाडी र ठूलो संख्यामा मोटरसाइकल जलेर नष्ट भएका छन् ।
प्रवक्ता पाण्डेले नयाँ सरकार गठनपछि अर्थ मन्त्रालयका सम्पूर्ण कार्यलाई सुचारु गर्ने गरी तयारी थालिएको बताए ।