© २०२३
काठमाडौँ ।
गायक राजेश पायल राईले अन्तरिम सरकारमा सञ्चार तथा परराष्ट्र मन्त्रालयको जिम्मेवारी आफूलाई दिन आग्रह गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार गठनका लागि सरोकारवाला पक्षहरूसँग तीव्र छलफल गरिरहेको बेला राईले बिहीबार राति सामाजिक सञ्जालमार्फत यस्तो प्रस्ताव अघि सारेका हुन् ।
फेसबुकमा पोस्ट गर्दै उनले लेखेका छन्, “जेनजी भाइहरू, मलाई सञ्चार र विदेश (परराष्ट्र) मन्त्रालय सम्हाल्न दिनुहोस् । प्रधानमन्त्री मागेको छैन ।”
उनको यो भनाइ सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ । केही प्रयोगकर्ताले राईको आत्मविश्वासको प्रशंसा गरेका छन् भने कतिपयले गम्भीर जिम्मेवारी लिन पूर्वतयारी र अनुभव आवश्यक पर्ने सुझाव दिएका छन् ।
राजेश पायल राई नेपाली संगीत क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि सक्रिय रहेका लोकप्रिय गायक हुन् । यद्यपि, औपचारिक रूपमा राजनीतिक भूमिकामा संलग्न नभए पनि सामाजिक र राष्ट्रिय विषयमा उनी समय समयमा धारणा सार्वजनिक गर्दै आएका छन् ।