© २०२३
काठमाडौँ, २७ भदौ ।
नेपाली सेनाले काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्युको समय केही परिमार्जन गरेको छ ।
सेनाको जनसम्पर्क निर्देशनालयले शुक्रबार सूचना जारी गर्दै भदौ २७ गते बिहान ६ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामका लागि नागरिकलाई आवतजावत गर्न अनुमति दिइने जनाएको छ ।
सेनाले पछिल्लो सुरक्षा परिस्थितिको मूल्यांकनका आधारमा नागरिकको जीवन र सम्पत्तिको सुरक्षालाई ध्यानमा राख्दै निषेधाज्ञा र कर्फ्यु आदेशलाई निरन्तरता दिनुपर्ने आवश्यक देखिएको जनाएको छ ।
काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका सुरक्षा समितिहरूद्वारा गरिएको निर्णयअनुसार, भदौ २७ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा लागू हुनेछ भने सोही दिन साँझ ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी रहनेछ ।
निषेधाज्ञा तथा कर्फ्युको अवधिमा एम्बुलेन्स, शववाहन, दमकल लगायतका आपतकालीन सेवाका सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै खाद्यान्न, इन्धन, ग्यास, दूध, तरकारी, पानी, औषधि तथा सञ्चार सेवा प्रदायक कम्पनीका सवारी साधन सञ्चालनमा कुनै रोक लाग्ने छैन ।
यस्तै, विभिन्न सरकारी कार्यालय, मानव अधिकार आयोग, बैंक तथा वित्तीय संस्था तथा सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीहरूले आफ्नो सक्कली परिचयपत्र देखाएर कार्यालयसम्म आवतजावत गर्न सक्नेछन् ।
त्यस्तै, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले पनि आफ्नो उडानको टिकट देखाएर विमानस्थलसम्म जान सक्ने व्यवस्था गरिएको छ ।
