© २०२३
काठमाडौं २७ भदौ ।
इजराइलले पछिल्ला ७२ घण्टाको अवधिमा गाजा (प्यालेस्टाइन) सहित छ वटा देशमा सैन्य आक्रमण गरेको छ । यी देशहरूमा सिरिया, लेबनान, कतार, यमन र ट्युनिसिया रहेका छन् । इजरायली आक्रमणमा हालसम्म २०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने १,००० भन्दा बढी घाइते भएका छन् ।
यी आक्रमणहरू सोमबारदेखि बुधबारसम्म भएका हुन् । इजरायली सेनाले आतंककारी समूहहरूका आधार शिविरहरूलाई लक्षित गरेको दाबी गरेको छ । तर यस प्रकारको एकपक्षीय सैन्य कारबाहीले गम्भीर मानविय क्षति र कूटनीतिक संकट निम्त्याएको छ ।
यसबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग असन्तुष्टि व्यक्त गरेका छन् । नेतन्याहूले भने गाजामा रहेका हमास अधिकारीहरूलाई लक्षित गर्दै दोहामा हवाई आक्रमण गरिएको जिकिर गरेका छन् । उनले आफ्नो कदमलाई अमेरिकाले ९/११ पछि चालेको कारबाहीसँग तुलना गर्दै भनेका छन्, “इजराइलले पनि त्यही गर्यो जुन अमेरिकाले आतंकवाद विरुद्ध गर्यो ।”
तर नेतन्याहूको यस कदमले अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायमा गम्भीर प्रश्नहरू उठाएका छन् । यसै सन्दर्भमा अरब राष्ट्रका नेताहरू खाडी मुलुकहरूको भ्रमणमा छन् र इजरायली आक्रमणबारे छलफल गर्न दोहामा आपतकालीन अरब-इस्लामिक शिखर सम्मेलनको आयोजना गरिने भएको छ ।
इजरायली आक्रमणका क्रममा हमासका सबै शीर्ष वार्ताकारहरू ज्यान जोगाउन सफल भए पनि, निर्वासित गाजा प्रमुख खलील अल-हय्याका छोरासहित पाँच जना हमास सदस्य मारिएका छन् । कतारी प्रधानमन्त्रीले नेतन्याहूको आदेशमा दोहामाथि भएको हवाई आक्रमणले गाजामा रहेका इजरायली बन्दीहरूलाई मुक्त गर्ने समझदारीमाथि ठूलो क्षति पुर्याएको टिप्पणी गरेका छन् ।
कतारको राजधानी दोहामा मंगलबार गरिएको आक्रमणमा हमासका वरिष्ठ नेता खलील अल-हय्यालाई लक्षित गरिएको थियो । यस आक्रमणमा उनका छोरा, अफिस निर्देशक, तीन जना गार्ड र एक जना कतारी सुरक्षाकर्मीको मृत्यु भएको हो । उक्त समयमा हमास नेताहरू अमेरिकाले प्रस्ताव गरेको युद्धविरामबारे छलफल गरिरहेका थिए । हमलापछि हमासले युद्धविराम प्रस्ताव अस्वीकार गरेको छ ।
इजराइलले सोमबार पूर्वी लेबनानको बेका र हरमेल जिल्लामा गरेको हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको छ। इजरायली सेनाले हिज्बुल्लाहका सैन्य केन्द्रहरूलाई निशाना बनाएको बताएको छ ।
मंगलबार पनि इजरायली ड्रोनले हिज्बुल्लाहका एक सदस्यमाथि आक्रमण गरेको थियो । यद्यपि, हिज्बुल्लाहले यसबारे आधिकारिक प्रतिक्रिया दिएको छैन। सन् २०२४ को नोभेम्बरमा युद्धविराम भए तापनि इजरायलद्वारा दक्षिणी लेबनानमा आक्रमण जारी रहेको छ ।
सिरियामा पनि सोमबार इजरायली युद्धक विमानले एयरफोर्स बेस र सैन्य शिविरमाथि आक्रमण गरेको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार यस आक्रमणमा कुनै मानव क्षति नभएको बताइएको छ ।
सिरियाको परराष्ट्र मन्त्रालयले भने यसलाई देशको सार्वभौमिकतामाथि आक्रमण भन्दै निन्दा गर्दै इजराइल क्षेत्रीय सुरक्षाका लागि खतरा भएको टिप्पणी गरेको छ । यद्यपि १९७४ मा सिरिया र इजराइलबीच सैन्य फिर्ती सम्झौतामा आक्रमण नगर्ने सहमति भएको थियो, इजराइलले हाल निरन्तर सिरियाका सैन्य पूर्वाधारहरूलाई लक्षित गर्दै आक्रमण गरिरहेको छ ।
यो वर्षमात्रै इजराइलले सिरियामाथि ८६ हवाई र ११ स्थलगत आक्रमण गरिसकेको छ, जसमा ६१ जनाको मृत्यु भएको छ र १३५ वटा स्थानहरू क्षतिग्रस्त भएका छन् ।
इजरायली ड्रोनद्वारा सोमबार राति ट्युनिसियाको बन्दरगाहमा एउटा पारिवारिक डुङ्गामाथि गरिएको आक्रमणमा कुनै मृत्यु नभएको जनाइएको छ । उक्त डुङ्गामा ६ जना सवार थिए, जसले पोर्तुगाली झन्डा बोकेका थिए ।
मंगलबार पनि बेलायती झन्डा बोकेको अर्को जहाजमाथि हमला भएको थियो । सन् २०१० यता गाजातर्फ जाने जहाजहरूलाई इजरायलले बारम्बार निशाना बनाउँदै आएको छ ।
बुधबार इजरायलले यमनको राजधानी सानामाथि १५ दिनभित्र दोस्रोपटक आक्रमण गरेको छ । योपटक हमला सानास्थित विमानस्थलमा भएको थियो, जहाँ हूथी विद्रोहीहरूको उपस्थिति रहेको इजरायलको दाबी छ । २८ अगस्टमा भएको अघिल्लो आक्रमणमा हूथी प्रधानमन्त्री अहमद अल-रहावीसहित १० जनाको मृत्यु भएको थियो र ९० भन्दा बढी घाइते भएका थिए ।
यसैबीच, गाजामा सोमबार गरिएको इजरायली आक्रमणमा मात्र करिब १५० जनाको मृत्यु भएको छ र ५४० जना घाइते भएका छन् । सन् २०२३ यता गाजामा ६४,६०० भन्दा बढी प्यालेस्टिनी नागरिक मारिएका छन् ।
भोकमरीका कारण ४०० जनाले ज्यान गुमाइसकेका छन् भने हजारौँ मानिस भग्नावशेषमा पुरिएर मृत्यु भएका छन् । गाजाको करिब ७५ प्रतिशत भूभाग हाल इजरायली नियन्त्रणमा रहेको छ ।