Butwal Today

जेनजी प्रदर्शनमा मृत्यु भएकाको पोस्टमार्टम प्रक्रिया अघि बढ्यो

२७ भाद्र २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं, २७ भदौ।

सोमबारको जेनजी प्रदर्शनमा ज्यान गुमाएका मृतकहरूको पोस्टमार्टम प्रक्रिया सुरु भएको छ ।

त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार हालसम्म ३६ वटा शव विभागमा ल्याइएको छ, जसमा एक जनाको परिचय खुल्न बाँकी छ । तीमध्ये ९ वटा शवको पोस्टमार्टम प्रक्रिया सुरु भइसकेको उनले जानकारी दिए ।

डा. चौधरीका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंबाट पोस्टमार्टम र शव बुझ्ने अनुमति पत्र ल्याएपछि मात्र प्रक्रिया अघि बढाइने व्यवस्था छ ।

हालसम्म ९ जना आफन्तले पत्र बुझाएकाले ती शवको पोस्टमार्टम गरी आजै परिवारलाई जिम्मा लगाइने तयारी भएको छ ।

पोस्टमार्टमका क्रममा मृत शरीरको बाहिरी तथा भित्री जाँच गरिन्छ । सुरुमा मृतकले लगाएको लुगाको विवरणसहित उचाइ, तौल, चोटपटक, मृत्युपछि हुने शारीरिक परिवर्तन, हातखुट्टा र मुख नाकको अवस्था अभिलेख गरिन्छ ।

त्यसपछि छाती, पेट र टाउको खोलाएर अंगहरूको परीक्षण गरिने हुन्छ । बाहिरी वा भित्री चोटपटक, रोग वा प्रयोगशालागत रिपोर्टको आधारमा मृत्युको कारण निर्धारण गरिन्छ  ।

डा. चौधरीका अनुसार गोली लागेका केसमा पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसारै पोष्टमार्टम गरिन्छ। गोली कुन कोणबाट लागेको हो, प्रवेश र निकास बिन्दु, शारीरिक विवरणलगायत सबै तथ्य वैज्ञानिक ढंगले संकलन गर्ने गरिएको उनले बताए ।

‘वैज्ञानिक आधार स्पष्ट भएपछि मात्र शव परिवारलाई जिम्मा लगाइन्छ,’ डा. चौधरीले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जेन जेड प्रदर्शनका कारण हालसम्म ३६ जनाको मृत्यु भइसकेको छ । तीमध्ये ५ जनाको मृत्यु बाँकेको बाल सुधार केन्द्रमा भएको झडपमा भएको थियो ।

मन्त्रालयले प्रदर्शनबाट १ हजार ७७१ जना घाइते भएको, जसमा २८४ जना अहिले पनि उपचाररत रहेको जनाएको छ ।