Butwal Today

अन्तरिम सरकार गठनबारे शीतल निवास वार्ता स्थगित, शुक्रबार बिहान ९ बजे पुनः बस्ने

२७ भाद्र २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

अन्तरिम सरकार गठनसम्बन्धी शीतल निवासमा बिहीबारदेखि जारी वार्ता निष्कर्षमा नपुगी शुक्रबार बिहान ९ बजे पुनः बस्ने गरी स्थगित गरिएको छ ।

अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने विषयमा प्रमुख दलहरू र राष्ट्रपति रामचन्द्र पौडेलबीच सहमति नजिक पुगेपनि संविधानले तोकेको प्रक्रिया नै सबैभन्दा ठूलो चुनौती बनेको छ ।

शीतल निवासमा भएको वार्तामा राष्ट्रपति पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल, पूर्वप्रधानन्यायाधीश कार्की, कानुनविद् ओमप्रकाश अर्याललगायत सहभागी थिए ।

बैठक शुक्रबार बिहान करिब ३ बजेसम्म चलेको थियो । तर कार्कीलाई प्रधानमन्त्रीमा कसरी नियुक्त गर्ने भन्ने विषयमा स्पष्ट निष्कर्षमा पुग्न नसकिएपछि वार्ता स्थगन गरिएको हो ।

बैठकको मुख्य एजेन्डा अन्तरिम सरकारको नेतृत्व कसरी दिने भन्ने नै थियो । यद्यपि संविधानअनुसार प्रधानमन्त्री प्रतिनिधिसभाको सदस्य हुनुपर्ने प्रावधानका कारण गैरसांसद कार्कीको नियुक्ति प्रक्रियामा विधिक अन्योल देखिएको छ ।

यसैबीच,जेनजी आन्दोलनमा सक्रिय युवा समूहले संसद् विघटनको मागलाई प्राथमिक मुद्दा बनाउँदै आएको भन्दै राष्ट्रपति कार्यालयमा दवाब थपिएको छ ।

राष्ट्रपति पौडेलले बिहीबार संविधानको धारा ६१(४) अन्तर्गत रहेको ‘बाधा अड्काउ फुकाउ’ प्रावधान प्रयोग गर्न सकिने वा नसकिने विषयमा संविधानविद् भीमार्जुन आचार्य, विपिन अधिकारीलगायतसँग विस्तृत परामर्श पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?