© २०२३
काठमाडौं, २६ भदौ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा सिर्जना भएको राजनीतिक अन्योलको समाधान संविधानभित्रै खोज्नुपर्ने बताएका छन् ।
बिहीबार सार्वजनिक अपिलमार्फत प्रचण्डले संविधानबाहिरबाट समाधान खोज्ने प्रयासले प्रतिगमनकारी शक्तिलाई फाइदा पुग्ने चेतावनी दिएका छन् । उनले हालको आन्दोलनले उठाएका मुद्दा र आफूहरूको एजेन्डा एउटै भए पनि आफ्नो पार्टी कार्यालय तथा निजी निवासमा आगजनी हुनु गम्भीर र अकल्पनीय घटना भएको उल्लेख गर्दै ती घटनाप्रति गहिरो खेद प्रकट गरेका छन् ।
उनले आन्दोलनमा भएको दमन, हिंसा, आगजनी र लुटपाटजस्ता घटनाको उच्चस्तरीय न्यायिक छानबिन हुनुपर्ने माग पनि गरेका छन् ।
प्रचण्डले आफ्नो पार्टीलाई अरू दलहरूसँग तुलना गर्न नहुने स्पष्ट पार्दै गणतन्त्रका लागि मृत्युुको कसम खाएर लडेको पार्टीलाई जनआन्दोलन दमन गर्ने दलसँग एउटै ठान्नु गलत रहेको बताए ।
उनले सरकारको असफलताले जनता आक्रोशित बनेको र त्यो आक्रोशलाई जेन–जी पुस्ताले सही ढंगले उजागर गरेको भन्दै धन्यवाद ज्ञापन गरेका छन् ।