Butwal Today

एमालेको माग: लोकतान्त्रिक विधिबाट समाधान खोजौँ, राष्ट्रपतिले नेतृत्व लिनुपर्छ

२६ भाद्र २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

नेकपा (एमाले) ले प्रधानमन्त्रीको राजीनामापछि उत्पन्न राजनीतिक परिस्थितिको समाधान संविधानसम्मत् रूपमा र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्नेमा जोड दिएको छ ।

पार्टीका महासचिव शंकर पोखरेलले बिहीबार विज्ञप्ति जारी गर्दै यो अवस्था समाधान गर्नका लागि राष्ट्रपतिलाई संवैधानिक मर्मअनुसार सार्थक संवाद सुरू गर्न र नेतृत्वदायी पहलकदमी लिन आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्रीको राजीनामापछि अबको राजनीतिक निकास संविधानसम्मत् रूपमा र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्छ भन्नेमा पार्टी स्पष्ट छ । सुशासन, नातावादको अन्त्य, तीव्र विकास र रोजगारी सिर्जना जस्ता युवा पुस्ताका सरोकारहरूलाई सम्बोधन गरिनुपर्छ ।

यसका लागि संविधानका मर्म अनुरूप सार्थक संवाद सुरू गर्न र नेतृत्वदायी पहलकदमी लिन सम्माननीय राष्ट्रपतिज्यूलाई ध्यानाकर्षण गराउँछौं ।”

एमालेले संघीय संसद, न्यायपालिका, प्रदेशसभा, प्रदेश सरकार र स्थानीय तहहरू सबैले आ–आफ्नो स्थानबाट लोकतन्त्रको रक्षाका लागि रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।

विशेषगरी स्थानीय तहहरूले निर्वाध रूपमा सेवा प्रवाह गर्न सक्ने वातावरण निर्माण गरिनुपर्नेमा उसले जोड दिएको छ ।

विज्ञप्तिमा संविधान, लोकतन्त्र, गणतन्त्र, शान्ति र राष्ट्रिय स्वाभिमानका पक्षधर सबै राजनीतिक दलहरूलाई पारस्परिक संवादमा आउन र संवैधानिक तथा लोकतान्त्रिक उपलब्धिको रक्षाका लागि समझदारी निर्माण गर्न आह्वान गरिएको छ ।

एमालेले परिस्थिति सामान्य भएपछि पार्टीको बैठक बसेर समग्र राजनीतिक अवस्थाको समीक्षा गरिने र आवश्यक आत्मसमीक्षा सहित आगामी रणनीति र कार्यक्रमबारे औपचारिक निर्णय लिइने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?