© २०२३
काठमान्डौ, २६ भदौ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेका र हाल फरार रहेका टोपबहादुर रायमाझीले आफू पुनः कारागार फर्कन तयार रहेको बताएका छन् ।
कारागार प्रशासन स्रोतका अनुसार रायमाझीले टेलिफोन सम्पर्क गरी आफू कुनै पनि कारागार जान तयार रहेको जनाएका हुन् । तर, परिस्थिति हेरेर खबर गर्ने भन्दै अहिले नआउन भनिएको कारागार स्रोतले बतायो ।
रायमाझी पहिले सुन्धारास्थित केन्द्रीय कारागारमा थुनामा थिए । सो कारागारबाट हालैको तोडफोडपछि करिब ३३ सय कैदी फरार भएका थिए । सुनकाण्डका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे पनि फरार भएकामध्ये एक हुन् ।
यसबीच, केही कैदीबन्दी स्वेच्छाले कारागार फर्किएका छन् भने अरू केही फर्कने तयारीमा छन् । भुटानी शरणार्थी प्रकरणमै थुनामा रहेका टेकनारायण पाण्डेले पनि आफू फर्किन तयार रहेको सन्देश पठाएका छन् ।