© २०२३
काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान विषम परिस्थितिमा सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् । बिहीबार राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उनले शान्ति र सुव्यवस्था कायम गर्न सबैले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
राष्ट्रपति पौडेलले देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको जानकारी दिँदै मुलुकमा लोकतन्त्रको संरक्षण र स्थायित्वका लागि आफू निरन्तर विचार विमर्श र हर सम्भव पहलमा संलग्न रहेको उल्लेख गरेका छन् ।
“देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भन्नेबारे म विचार विमर्श तथा प्रयासरत छु,” विज्ञप्तिमा भनिएको छ ।
उनले आन्दोलनरत नागरिकहरूको माग सम्बोधनका लागि छिटोभन्दा छिटो समस्याको समाधान खोजिने उल्लेख गर्दै त्यसप्रति सबै पक्ष विश्वस्त रहन आग्रह गरेका छन् ।
राष्ट्रपतिले सबैलाई संयमित रहँदै मुलुकमा शान्ति र सुव्यवस्था कायम गर्न सहयोग गर्न अपिल गरेका छन् ।
