नेपालगन्ज, २६ भदौ ।
बाँकेस्थित नेपालगन्ज कारागारमा आज बिहीबार कैदी बन्दीले आगजनी गर्दै भाग्ने प्रयास गरेका छन् । अन्य कारागारका कैदीजस्तै आफूहरूलाई पनि निस्कन दिनुपर्ने माग राख्दै उनीहरू भवन बाहिर निस्किएका थिए ।
प्रहरीका अनुसार आगजनीमा संलग्न हुनेहरू प्रायः ‘वि ब्लक’ का कैदी हुन् । सो ब्लकमा लागु औषध सम्बन्धी मुद्दामा संलग्न कैदीहरू रहेका छन् ।
स्थिति नियन्त्रण गर्न नेपाली सेनाको टोली कारागार पुगेपछि कैदीलाई भवनभित्र पस्न आग्रह गर्दै पाँच राउन्ड हवाई फायर गरिएको थियो । तर हवाई फायर गर्दा पनि स्थिति नियन्त्रणमा नआएपछि सेनाले गोली प्रहार गर्दा ‘वि ब्लक’ का कैदी उमेश बम घाइते भएका छन् ।
घाइते बमको उपचार नेपालगन्जस्थित भेरी अस्पतालमा भइरहेको छ । गोली चलेपछि मात्रै कैदीहरू पुनः भवनभित्र प्रवेश गरेको प्रहरीले जनाएको छ । अहिले कारागारको अवस्था सामान्य रहेको र थप अप्रिय घटना नहोस् भनेर उच्च सतर्कता अपनाइएको जनाइएको छ ।