© २०२३
बाँके, २६ भदौ ।
नेपालगञ्ज उपमहानगरपालिका र आसपासका क्षेत्रमा केही दिनदेखि तनावपूर्ण बनेको जनजीवन बिहिबारदेखि सहज बन्दै गएको छ । गत २३ र २४ गते ‘जेननी’ समूहको अन्दोलनका कारण ठप्प बनेको बजार, यातायात र दैनिक गतिविधि आज भने क्रमशः सामान्यतर्फ फर्किरहेको छ ।
अन्दोलनका कारण दुई दिनसम्म नेपालगञ्जमा मानिसहरू ओहोरदोहोर गर्नसमेत कठिन भएको थियो । सडकमा टायर बाल्ने, नारा जुलुस गर्ने र तोडफोडका गतिविधिका कारण स्थानीयवासी त्रसित बनेका थिए । तर जिल्ला प्रशासन कार्यालय, बाँकेले तत्कालीन परिस्थितिलाई नियन्त्रणमा लिन ‘निषेधाज्ञा’ जारी गरेपछि अवस्था सामान्य हुँदै गएको छ । बिहिबार बिहानैदेखि बजार क्षेत्रमा पसलहरू खुल्न थालेका छन् । तरकारी बजार, किराना पसल, औषधि पसल र अन्य आवश्यकीय सेवामा भिड देखिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले अन्दोलनका क्रममा देखिएका गतिविधिले शान्ति सुरक्षा प्रभावित हुन थालेपछि २४ गते साँझदेखि निषेधाज्ञा जारी गरिएको बताएका छन् । प्रशासनले सुरक्षाकर्मीलाई आवश्यक ठाउँमा परिचालन गरेर सम्भावित दुर्घटना र अशान्ति रोक्ने काम गरेको हो । सशस्त्र प्रहरी, नेपाल प्रहरी र दंगा नियन्त्रण प्रहरीलाई मुख्य चोक, बसपार्क, धम्बोझी, त्रिवेणी चोक लगायतका संवेदनशील क्षेत्रमा खटाइएको छ । यसले गर्दा अत्तालिएका नागरिकले फिर्ता आत्मविश्वास पाएका छन् ।
अन्दोलनका बेला ठप्प भएको सार्वजनिक यातायात विहिबारदेखि क्रमशः सञ्चालनमा आएको छ । नेपालगञ्ज–कोहलपुर सडक खण्डमा बिहानैदेखि बस र माइक्रोबस सञ्चालनमा आएपछि यात्रुहरूले राहत महसुस गरेका छन् । विशेष गरी विद्यालय बन्द छ र कार्यालयतर्फ हिँड्ने कर्मचारी र दैनिक मजदुरी गर्ने कामदारहरूलाई सहज भएको छ । तर लामो दूरीका यातायात सेवा भने अझै पूर्णरूपमा सञ्चालनमा आएका छैनन । केही बस सञ्चालकहरूले अवस्था स्थिर नहुँदासम्म तत्काल सेवा सुरु नगर्ने बताएका छन् ।
व्यापारीहरूले दुई दिनसम्म व्यवसाय ठप्प हुँदा ठूलो घाटा बेहोर्नुपरेको गुनासो गरेका छन् । नेपालगञ्ज बजार व्यवसायी संघका एक पदाधिकारीले भने, “अचानक आन्दोलन सुरु हुँदा लाखौँको कारोबार प्रभावित भयो । यस्ता आन्दोलनले स्थानीय अर्थतन्त्रमा ठूलो धक्का पुर्याउँछ ।”तर उनीहरूले प्रशासनको समयमै कदम उठाइएकाले अवस्था नियन्त्रणमा आएको बताउँदै आगामी दिनमा शान्तिपूर्ण संवादमार्फत समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।
नेपालगञ्जकी ४५ वर्षीया गीता चौधरी भन्छिन्, “दुई दिनसम्म घरमै बस्नुप¥यो । स्कुल बन्द हुदाँ बच्चाहरूलाई विद्यालय पठाउन सकेनौं । आज बाटो खुल्दा सहज महसुस भयो ।” अब विस्तारै स्कुल कलेज संचालन गर्न तिर ध्यान दिनु पर्छ ।
यस्तै, मजदुरी गरेर परिवार पाल्दै आएका जमुना राना भन्छन्, “हामी जस्ता दैनिक आम्दानीमा भर पर्नेलाई आन्दोलन सबैभन्दा ठुलो पीडा हो । आज काममा निस्कन पाउँदा धेरै खुसी लागेको छ ।”
अन्दोलनका कारण प्रभावित विद्यालयहरू पुर्ण रूपमा बन्द भएका छन्। धेरै विद्यालयले सोमबारदेखि नियमित कक्षा सुरु गर्ने तयारी गरेका छन्।
स्वास्थ्य सेवामा पनि सहजता देखिएको छ । अघिल्ला दिन बिरामी र स्वास्थ्यकर्मीलाई अस्पताल आउजाउमा समस्या भए पनि आजदेखि सहज भएको बाँकेको नेपालगंजमा रहेको भेरी अस्पताल स्रोतले जनाएको छ । जेननी समूहले सोसल मिडिया बन्द र भ्रष्टचार नियन्त्रण गर्नका लागि आन्दोलन गरेको थिए । तर स्थानीय राजनीतिक दलका नेताहरूले आन्दोलनका नाममा हिंसात्मक गतिविधि गर्नु गलत भएको टिप्पणी गरेका छन । उनीहरूका अनुसार लोकतान्त्रिक समाजमा आवाज उठाउने अधिकार सबैलाई भए पनि त्यसले अरूको जनजीवन अस्तव्यस्त बनाउन नहुनेमा जोड दिएका छन् ।
२३ र २४ गतेको अन्दोलनले अल्मलिएको नेपालगञ्ज अहिले क्रमशः शान्त र सामान्यतर्फ फर्किरहेको छ । निषेधाज्ञाको प्रभावकारिताले जनताले फेरि सामान्य जीवनशैलीमा फर्किन पाएका छन् । तर यस घटनाले फेरि पनि देखाएको छ कि असंगठित आन्दोलन र हिंसात्मक कदमले सर्वसाधारणको जीवनलाई कति प्रभावित पार्छ । नेपालगञ्जका बासिन्दाले अबको दिनमा यस्ता गतिविधि दोहोरिन नदिन सबै पक्षलाई सचेत बन्न आह्वान गरेका छन् ।