© २०२३
बुटवल, २६ भदौ ।
टेकनारायण पाण्डे : दुर्घटना र असुरक्षाबाट जोगिन बाध्य भएर निस्किए
इन्दर्जित राई : नेपालमा न्यायको दृष्टि अदालतमा उपस्थित भएर सुनाउँछु ।
कैदीबन्दीहरू कारागारभित्र रहँदा बाहिरी संसारमा टेक्न ठूलो प्रलय वा अप्रत्याशित विजयको प्रतिक्षामा बस्छन्। जेनजी पुस्ताको आन्दोलन र त्यसपछि भएको सत्ता परिवर्तनले उनीहरूलाई त्यस्तै दुर्लभ अवसर प्रदान गर्यो। जेनजी पुस्ता र उनीहरूको आवाज कैदीबन्दीका लागि भगवानझैँ आशीर्वादका रूपमा देखापरे।
सजाय काट्दै गरेका कैदीबन्दीहरूले कारागारका पर्खाल, काँडेतार, फलामे ढोका र कडा सुरक्षा घेरा तोडेर बाहिर निस्कने कुरा कल्पनासम्म पनि गरेका थिएनन्। तर विश्व इतिहासमै कहिलेकाहीँ त्यस्ता अवसरहरू प्राप्त हुन्छन्। पछिल्लो नेपालको घटना त्यसकै एक उदाहरण बनेको छ।
देशको केन्द्रमा रहेको सुन्धाराको कारागारमा रहेका झन्डै चार हजार कैदीबन्दीमध्ये पाँच सय बाहेक सबैजना बाहिरिए। देशभरका धेरैजसो कारागारहरू जेनजीको नाममा फाईदा उठाउने वा विजयी टोलीले खाली गराए। प्रारम्भमा केही स्थानमा कैदीबन्दीहरूले अन्यौलका बीच अवसरको उपयोग गरेका मात्र थिए। तर पछि, सबै ठाउँमा कारागार खोलिएको थाहा पाएपछि डिल्लीबजार लगायतका केही कारागारमा झडप र आगजनीका घटना समेत भए।
कैदीबन्दीहरूको इच्छामात्रैले जेलको ढोका खोलिँदैन। उपत्यकाका हिरासत कक्षहरू खाली पारिए र रवी लामिछानेलाई निकालिएको खबर फैलिएपछि आन्दोलनकारी र आफन्तजनले देशभर कारागार खोल्ने अभियान चलाए। यस क्रममा सुरक्षामा रहेको नेपाल प्रहरी पनि मौन रहन बाध्य भएको देखियो।
केन्द्रीय कारागारमा रहेका करिब २,१०० कैदीमध्ये करिब २५० मात्र भित्रै रहे। बाँकी सबै निस्किए। जेल खुलेपछि पनि बाहिर ननिस्किने हो भने थप आक्रमण वा आगजनी हुने डरले धेरैले कारागार छोड्नुपरेको उनीहरुले बताए। त्यहाँ २०० भन्दा बढी अशक्त, बिरामी र दीर्घरोगी कैदी थिए, जसलाई बाहिर निस्कनै सक्ने अवस्था थिएन। केही आन्तरिक स्टाफ र बिरामीका सहयोगीले भने आफ्नो धर्म निभाउँदै कैदीहरूको सेवा र सुरक्षाका लागि कारागारमै बस्ने निर्णय गरे।
जेल तोड्न गएका आन्दोलनकारीले पनि भित्र अशक्त र बिरामी कैदी रहेको थाहाँ पाएपछि थप क्षति नगरी फर्किएका थिए ।जेलबाट बाहिर निस्किएका कैदीहरूले नयाँ शासनव्यवस्थाले बाँकी सजाय मिनाहा गर्ने वा कम गर्ने अपेक्षा राखेका छन्। कसैले आफ्नो सजाय कटौती हुनेमा विश्वास देखाएका छन् भने पुर्पक्षका लागि थुनामा रहेका बन्दीहरूले थुनामुक्त भएर बाहिरैबाट मुद्धाको सामना गर्ने आशा गरेका छन्।
केन्द्रीय सुधार गृहका चौकीदार प्रभाकर राणाले अशक्त कैदीहरूको सुरक्षा र राज्यले दिएको जिम्मेवारी अन्तिम क्षणसम्म पूरा गर्न आफूहरूले जेल नछोड्ने बताएका थिए । त्यस्तै, जेलबाट बाहिरिएका पूर्वसचिव टेकनारायण पाण्डेले सम्भावित दुर्घटना र असुरक्षाबाट जोगिन बाध्य भएर निस्कनु परेको बताए। उनले आफू कानूनी प्रक्रियामा सधैं सहकार्य गर्न तयार रहेको पनि जोड दिए। अर्का कैदी डा। इन्दर्जित राईले साढे दुई वर्ष थुनामा बिताउँदा न्यायको दृष्टि आफूहरूप्रति बन्द रहेको गुनासो गर्दै अब अदालतमा उपस्थित भएर आफ्नो आवाज राख्ने बताए।
अदालतहरूमा भएको तोडफोडले अभिलेख समेत नष्ट भएकाले यस्तो अवस्थामा कैदीहरूलाई भगौडा भन्नु अन्याय हुनेछ। उनीहरूलाई उल्टै कानूनी सजाय दिनु उचित हुँदैन। अब नयाँ सत्ताले सबै नागरिकलाई सुशासन, विश्वास र केही राहत दिनुपर्छ। कैदीबन्दीहरूले खोजेको आशीर्वाद पनि सामान्य हो— न्यायसंगत व्यवहार।
त्यसैले, कारागार नछोडी सेवा र सुरक्षामा खटिएका कैदीबन्दीलाई विशेष धन्यवादसहित बाँकी सजाय माफी वा कम्तिमा ५० प्रतिशत कटौती गरिनुपर्छ। त्यसैगरी, कारागारबाट निस्कन बाध्य भएका कैदीमध्ये बाँकी सजाय २५ प्रतिशत वा कम भएका कैदीलाई पूर्ण मिनाहा गरेर मुक्त गर्न सकिन्छ। अन्य कैदीलाई पुनः फिर्ता भएमा थप २५ प्रतिशत सजाय कटौती दिने र प्रचलित कानुनअनुसार विगत दुई वर्षदेखि रोकिएका सुविधाहरू तत्काल उपलब्ध गराउनु न्यायसंगत हुनेछ।पुर्पक्षका लागि थुनामा एक वर्षभन्दा बढी बसेका कैदीमध्ये जन्मकैद हुने बाहेकलाई थुनामुक्त गर्ने व्यवस्था गरिए कानुन कार्यान्वयन अझ सहज हुनेछ।
जेल व्यवस्थापन विगतदेखि नै चुनौतीपूर्ण छ— क्षमता भन्दा बढी कैदी, थुनामा दीर्घकालसम्म राख्ने प्रवृत्ति, सजाय माफी र मिनाहाको प्रक्रिया रोकिएको अवस्था, आवश्यक सुविधा अभाव, र मानव अधिकारको न्यूनतम सेवा पनि नपाइने परिस्थिति।
त्यसैले, जेनजीको विजयले दिएको यस अवसरलाई जेल सुधार र कैदीबन्दीको जीवन सुधारतर्फ मोड्न सकियो भने यो विजय वास्तवमै कैदीबन्दीहरूका लागि आशीर्वाद बन्नेछ।