© २०२३
काठमाडौं, २६ भदौ ।
राजनीतिक संकट समाधानका लागि जेन–जी नेपालले विद्युत प्राधिकरणका पूर्वकार्यकारी प्रमुख कुलमान घिसिङलाई अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वका लागि प्रस्ताव गर्ने निर्णय गरेको छ ।
जेन–जीका एक समूहद्वारा बिहीबार जारी विज्ञप्तिमा भ्रष्टाचार अन्त्य, बेथिति नियन्त्रण र सुशासन स्थापनाका लागि गरिएको आन्दोलन ऐतिहासिक सफलतासम्म नजिकिएको उल्लेख गरिएको छ । साथै, जेन–जी समर्थित अन्तरिम मन्त्रिपरिषद् गठन भएपछि आन्दोलनको निष्कर्ष प्राप्त हुने विश्वास व्यक्त गरिएको छ ।
विज्ञप्तिअनुसार प्रारम्भिक छलफलमा काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन) लाई सम्भावित उम्मेदवारका रूपमा हेरिएको थियो । तर, उनले प्रक्रिया प्रति रुचि नदेखाएपछि वैकल्पिक नाम खोजिएको जनाइएको छ । त्यसैगरी धरानका मेयर हर्क साम्पाङको नाम पनि छलफलमा आएको भए तापनि सबैलाई समेटेर नेतृत्व गर्न सक्ने सम्भावना न्यून देखिएको उल्लेख गरिएको छ ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा हिजोको भर्चुअल छलफलमा समर्थन भए पनि संविधानअनुसार न्यायाधीशहरू यो पदका लागि योग्य नहुने र उमेर सीमा पार भएकाले उनको नाम अस्वीकृत गरिएको स्पष्ट गरिएको छ ।
छलफलपछि कुलमान घिसिङको नाममा सकारात्मक सहमति बनेको र अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व गर्नका लागि आधिकारिक रूपमा प्रस्ताव गरिने निर्णय भएको जेन–जी नेपालको विज्ञप्तिमा उल्लेख छ ।