© २०२३
काठमाडौं, २६ भदौ ।
सामाजिक सञ्जाल बन्द र शासनप्रणालीमा देखिएको अव्यवस्थाविरुद्ध जेनजी समूहले देशव्यापी रूपमा थालेको आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार, देशभरका विभिन्न अस्पतालमा उपचारका क्रममा अथवा उपचारअघि मृत्यु भएका प्रदर्शनकारीको संख्या ३४ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार हालसम्म १,३६८ जना घाइते भएका छन् । तीमध्ये ३२१ जनाको अस्पतालमा उपचार भइरहेको छ भने ९४९ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौंको सिभिल अस्पतालमा ६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना, भेरी अस्पतालमा ५ जना, एभरेष्ट र फ्रन्टलाइन अस्पतालमा ३/३ जना, केएमसी र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २/२ जना, बयोधा, त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताल र बिएनसी अस्पतालमा एक/एक जनाको मृत्यु भएको हो ।
प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि सुरक्षा घेरा तोडेर अघि बढ्ने प्रयास गर्दा आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो ।
झडपका क्रममा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको आरोप लागेको छ । घाइते भएका प्रदर्शनकारीहरूलाई तत्काल अस्पताल पुर्याइएको थियो, जसमध्ये केहीको बाटैमा र केहीको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।