© 2026
काठमाडौं, २५ भदौ ।
कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थाको संरक्षणलाई जीवनकै मूल उद्देश्यका रूपमा चित्रण गरेका छन् । उनले मुलुकमा स्थापित वर्तमान लोकतान्त्रिक–संविधानिक व्यवस्थासँग कुनै सम्झौता नहुने भन्दै पदभन्दा व्यवस्था नै आफूका लागि ठूलो भएको स्पष्ट पारेका छन् । ओलीको सन्देश एमाले नेतृ शान्ता चौधरीले फेसबुकमा शेयर गरेकी हुन् ।
नेपाली सेनाको शिवपुरी गणस्थित सुरक्षाघेराभित्र बसेर बालबालिकालाई भावुक सन्देश जारी गर्दै ओलीले भनेका छन्, “पदमा रहने या नरहने भन्ने कुरा मेरा लागि ठूलो होइन । सबैभन्दा महत्वपूर्ण त यो व्यवस्था जोगाउनु हो, जसले नागरिकलाई बोल्ने, हिँड्ने र प्रश्न गर्ने अधिकार दिएको छ ।”
प्रधानमन्त्री ओलीले आफ्नो निजी जीवनका पीडा सम्झँदै समाजमा शान्ति र स्थायित्व कायम गर्न चाहेको उल्लेख गरे । “व्यवस्था परिवर्तनको कठोर लडाइँका क्रममा सत्ताले दिएको निर्मम यातनाका कारण मेरा आफ्ना सन्तान भएनन् । तर पनि, ‘बा’ बन्ने रहर कहिल्यै मरेन,” उनले भने ।
आन्दोलनका क्रममा प्रहरीको गोली लागेर आफ्ना छोराछोरीजस्तै मानिएका बालबालिकाको ज्यान गएको स्मरण गर्दै उनले त्यो पीडा अझै आलै रहेको बताए । त्यसै अनुभवका कारण आफू हिंसाप्रति सदैव नकारात्मक रहेको उल्लेख गर्दै उनले २०५१ मा आफू गृहमन्त्री हुँदा राज्यतर्फबाट एउटा पनि गोली नचलेको उदाहरण प्रस्तुत गरे ।
अहिलेको आन्दोलनमा देखिएका विध्वंसात्मक गतिविधिबारे ओलीले प्रश्न उठाउँदै निर्दोष युवाहरूको नाम दुरुपयोग भएको दाबी गरे । उनले भने, “देशका महत्वपूर्ण रेकर्ड भएका कार्यालयमा आगजनी गर्नु, कारागारबाट कैदीहरू छोड्नु जस्ता गतिविधि सामान्य होइनन् । यसको पछाडि गहिरो षड्यन्त्र लुकेको छ ।”
उनले आन्दोलनकारीहरूको भावनालाई प्रयोग गरेर व्यवस्थामाथि नै प्रहार गर्ने खेल भइरहेको भन्दै सचेत रहन आग्रह गरे ।
ओलीले आफू स्वभावैले जिद्दी रहेको र यही जिद्दीपनका कारण मुलुकका संवेदनशील विषयमा दृढ भएर उभिन सकेको बताए । “लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो भनेर मैले जिद्दी नै गरेको हुँ । भगवान् श्रीराम भारतमा होइन, नेपालमा जन्मिएका हुन् भन्ने कुरा पनि मैले जिद्दी गरेरै भनेको हुँ,” उनले उल्लेख गरे ।
त्यसैगरी, अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल कम्पनीहरूले नेपालका कानुन मान्नुपर्ने माग, लिम्पियाधुरा समेटिएको नेपालको नक्सा संयुक्त राष्ट्र संघमा पठाउने निर्णयलगायत कार्य आफूले जिद्दी गरेरै सम्पन्न गरेको उनले स्मरण गरे ।
प्रधानमन्त्री ओलीले पद, प्रतिष्ठा र अवसरलाई कहिल्यै प्राथमिकतामा नराखेको दाबी गरे । “मैले त आफूसँग भएको सम्पत्ति समेत राज्यको नाममा दिएको छु । मेरो लागि पद, प्रतिष्ठा कहिल्यै महत्वपूर्ण रहेन,” उनले भने ।
उनका अनुसार, नागरिकलाई अभिव्यक्ति, भेला र प्रश्न गर्ने अधिकार दिने व्यवस्थाको संरक्षण नै जीवनको अन्तिम लक्ष्य हो । “व्यवस्थाको विषयमा कुनै सम्झौता हुँदैन भन्नेमा म दृढ छु,” ओलीको भनाइ छ ।