© २०२३
काठमान्डौ, २५ भदौ ।
राजधानीको सुनधारास्थित कारागारबाट तीन हजारभन्दा बढी कैदीबन्दी फरार भएका छन् । कारागार प्रशासनका अनुसार ३ हजार ८०० भन्दा बढी कैदीमध्ये हाल करिब ५०० कैदी मात्र कारागारभित्र रहेका छन् ।
कैदीहरू गए राति करिब ११ बजे मुख्य गेट फोडेर भागेका हुन् । फरार हुनेहरूमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी र पूर्वगृहसचिव टेकनारायण पाण्डे पनि छन् ।
यसअघि नक्खु कारागारबाट रवि लामिछानेसहित सबै कैदीबन्दी बाहिर निस्किएको जानकारी फैलिएपछि सुनधारा कारागारमा रहेका कैदीहरूले पनि विद्रोह गरेका थिए । त्यसपछि उत्पन्न अवस्थालाई नियन्त्रणमा लिन नसक्दा ठूलो संख्यामा कैदीहरू कारागारबाट भाग्न सफल भएका हुन् ।
अहिले भद्रबन्दी गृहमा १ सय, केन्द्रीय बन्दीगृहमा ३ सय र महिला बन्दीगृहमा १ सय कैदीबन्दी मात्रै छन् । प्रहरीका अनुसार बाँकी रहेका कैदीहरू स्वेच्छाले बसेका हुन्, उनीहरूलाई बलपूर्वक रोकिएको छैन ।