© २०२३
जितपुर, २५ भदौ ।
देशभर रगत अभावको समस्या तीव्र हुँदै गएका बेला लायन्स क्लब अफ कपिलवस्तुको पहलमा आज जितपुरस्थित सि एण्ड सि अस्पताल अगाडि मेगा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कुल १०१ पोइन्ट रगत संकलन गरिएको आयोजकहरूले जानकारी दिएका छन् ।
लायन्स अन्तर्राष्ट्रिय ३२५ पि अन्तर्गत जोन २२ का लायन्स क्लब अफ कपिलवस्तु स्टार, लायन्स क्लब अफ कपिलवस्तु, लायन्स क्लब अफ कपिलवस्तु दिदिबहिनी, लायन्स क्लब अफ कृष्णनगर तथा लियो क्लब अफ कपिलवस्तुको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।
हालैको जेनजी आन्दोलनका क्रममा घाइते भएकालाई रगत अभाव भएपछि आकस्मिक रूपमा यो रक्तदान कार्यक्रम आयोजना गरिएको लायन्स क्लब अफ कपिलवस्तुका अध्यक्ष नारायण पौडेलले बताए । उनले जिल्लामा निरन्तर रगत अभाव भइरहेकाले भविष्यमा पनि यस्ता सामाजिक कार्यमा क्लब सक्रिय रहने प्रतिबद्धता जनाए ।
कार्यक्रममा लायन्स क्लबका पूर्व अध्यक्ष, विभिन्न क्लबका पदाधिकारी, लायन्स क्लब अफ कपिलवस्तु स्टारका अध्यक्ष सागर पोख्रेल, लियो क्लब अफ कपिलवस्तुका अध्यक्षलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन लायन्स क्लब अफ कपिलवस्तुका द्वितीय उपाध्यक्ष सागर घिमिरेले गरेका थिए । रक्तदान कार्यक्रममा रेडक्रस उपशाखा वाणगंगा र सि एण्ड सि अस्पतालले प्राविधिक सहयोग प्रदान गरेका थिए ।