© २०२३
काठमाडौं ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्ला दुई दिनमा नेपालमा भएका घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।
उनले आन्दोलनका क्रममा भएको हिंसा हृदयविदारक भएको उल्लेख गर्दै नेपाली जनतासँग शान्ति र संयमता अपनाउन आग्रह गरेका छन् ।
मोदीले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा नेपाली भाषामा लेख्दै आन्दोलनमा ज्यान गुमाएका युवाप्रति समवेदना प्रकट गरेका छन् । उनले लेखेका छन्, “नेपालमा भएको हिंसा हृदयविदारक छ । धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेकोमा मेरो मन अत्यन्तै विचलित छ ।”
उनका अनुसार दिनभरको भ्रमणपछि बसेको भारतको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालका घटनाक्रमहरूबारे विस्तृत छलफल गरिएको थियो ।
नेपालको स्थायित्व, शान्ति र समृद्धिलाई भारतले अत्यन्त महत्वपूर्ण रूपमा हेर्ने उल्लेख गर्दै उनले भनेका छन्, “म नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीहरूलाई शान्ति-व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपील गर्दछु ।”
प्रधानमन्त्री मोदीको यस्तो अभिव्यक्तिले नेपालको पछिल्लो राजनीतिक तथा सामाजिक अस्थिरताप्रति भारत उच्च सतर्कतामा रहेको संकेत गरेको छ ।