© २०२३
काठमाडौं, २५ भदौ ।
जेनजी आन्दोलनका क्रममा मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा भएको तोडफोड तथा आगजनीपछि बुधबारका लागि तय गरिएको प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले आज एक सूचना प्रकाशित गर्दै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।
सूचनामा भनिएको छ, ‘मिति २०८२ साल भदौ २५ गते बुधबार दिउँसो १ :०० बजेका लागि निर्धारित प्रतिनिधिसभा बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएकोले संसद् नियमावली, २०७९ को नियम ६ को उपनियम (३) अनुसार सभामुखज्यूले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि प्रकाशित गरिएको छ ।’
यसअघि भदौ २३ गतेका लागि तय गरिएको राष्ट्रियसभा बैठक पनि सूचना टाँसेर अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
सिंहदरबार र संसद् भवन क्षेत्रमाथि भएको आक्रमणपछि संघीय संसद्को दुवै सदनको बैठक स्थगित हुनु गम्भीर संवैधानिक चुनौतीका रूपमा देखिएको छ । घटनापछि संसद् भवनको भौतिक संरचनामा व्यापक क्षति पुगेको छ भने सुरक्षा व्यवस्था समेत थप कडा पारिएको छ ।
