दाङ, २५ भदौ ।
जेनजी आन्दोलन दोस्रो दिन उग्र बनेसँगै सोमबार दाङको घोराही र तुलसीपुरका सरकारी कार्यालय तथा राजनीतिक दलका भवनमा आगजनी र तोडफोड गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका, मालपोत, उच्च अदालत, आन्तरिक राजश्व, इलाका प्रशासन, नगर विकास समिति र कारागारसहितका सरकारी कार्यालयमा आगजनी गरिएको छ । एमाले, काँग्रेस र माओवादीका पार्टी कार्यालय पनि ध्वस्त पारिएका छन्। कारागारका बन्दीसमेत भगाइएको छ ।
प्रदर्शनकारीले एमाले महासचिव शङ्कर पोखरेल, नेता कोमल वली, पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, काँग्रेस नेता गेहेन्द्र गिरी, पूर्व मन्त्रीहरू हिराचन्द्र केसी र दीपक गिरीको घरमा समेत आगजनी तथा तोडफोड गरेका छन् ।
सुरुवातमा शान्तिपूर्ण देखिएको प्रदर्शन दिउँसोदेखि हजारौँको सहभागितासहित हिंसात्मक बनेको हो । प्रहरी नियन्त्रण बाहिर देखिएको यस घटनामा घोराहीमा घरेलु कार्यालय , मालपोत कार्यालय , शिक्षा समन्वय समिति , जिल्ला समन्वय समिति , नेपाल बार एसोसिएसन, जिल्ला अदालत , घोराही उपमहानगरपालिका , जिल्ला ट्राफिक कार्यालय , होटल मालाइन, प्रदेश सभा सदस्य राजु खनालको निवास , नगरप्रमुख नरुलालको निवास , वडा नम्बर ३,१४,१५, १६,१७,१८ वडा कार्यालयमा तोडफोड र आगजनी भएको छ ।