© २०२३
काठमान्डौ, २५ भदौ ।
जेनजी आन्दोलनका क्रममा मंगलबार सिंहदरबारमा भएको आगजनीबाट त्यहाँका अधिकांश भौतिक संरचनामा क्षति पुगेको भए पनि, अधिकांश सरकारी कार्यालयका डिजिटल तथ्यांक (डाटा) भने सुरक्षित रहेको एकीकृत डाटा व्यवस्थापन केन्द्र (आईडीएमसी) का प्रमुख मनिष भट्टराईले जानकारी दिएका छन् ।
उनका अनुसार आईडीएमसी अन्तर्गतका सरकारी निकायहरूको डाटा हेटौंडामा रहेको डिजास्टर रिकभरी केन्द्रमा सुरक्षित राखिएको छ, र सो केन्द्रमा कुनै प्रकारको क्षति नपुगेको पुष्टि भइसकेको छ ।
भट्टराईका अनुसार अधिकांश सरकारी निकायको डाटा आईडीएमसी अन्तर्गत ब्याकअपमा सुरक्षित रहेको छ । तथापि, केही संस्थाहरू—जस्तै आन्तरिक राजस्व विभाग, राहदानी विभाग, र अध्यागमन विभाग—ले आफ्नै डाटा सेन्टर सञ्चालन गरेका कारण ती निकायको अवस्थाबारे यकिन गर्न नसकिने उनले बताए । तर, ती निकायहरूले पनि आईडीएमसी अन्तर्गत डिजास्टर रिकभरी प्रणालीमा ब्याकअप राखेकाले सम्भावित क्षति भए पनि डाटा पुनः प्राप्त गर्न सकिने छ ।
सर्वोच्च अदालतको डाटामा भने केही क्षति भएको बताइएको छ । तर, भट्टराईका अनुसार सो डाटाको पनि आईडीएमसी प्रणालीमा ब्याकअप रहेको र अदालतले डाटा पुनः प्राप्तिका लागि आईडीएमसीलाई पत्राचार गरिसकेको छ । आवश्यक प्रक्रिया पूरा भएपछि डिजास्टर रिकभरी केन्द्रबाट सो डाटा पुनः प्राप्त गरिने उनले जानकारी दिए ।