© २०२३
सल्यान, २५ भदौ ।
सल्यान जिल्लामा सार्वजनिक संरचनामा क्षति पुर्याउने सम्भावित जोखिम कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले कर्फ्यु जारी गरेको छ ।
प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम बुधबार बेलुका ५ बजेदेखि विहिबार बिहान ६ बजेसम्म लागू हुने गरी आदेश जारी गरेको हो । आदेशअनुसार सो अवधिभर जिल्लाभर आवतजावत, भेला हुने, जुलुस गर्ने तथा सार्वजनिक वा निजी सम्पत्ति तोडफोड गर्ने गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीका अनुसार कर्फ्यु अवधिभर जिल्लास्थित सुरक्षानिकायबीच संयुक्त कमाण्ड पोस्टमार्फत निरन्तर समन्वय, सहयोग र अनुगमन गरिनेछ । उनले जिल्लाको सुरक्षा स्थिति नियन्त्रणमा लिन आवश्यक सबै सुरक्षा संयन्त्र परिचालन भइसकेको जानकारी दिए ।
यसअघि हिजो सदरमुकाम खलंगा र श्रीनगर आसपासमा मात्र कर्फ्यु लागू गरिएको भए पनि परिस्थितिलाई मध्यनजर गर्दै आज विहिबारदेखि जिल्लाभर कर्फ्यु आदेश विस्तार गरिएको प्रशासनले जनाएको छ । सम्भावित असामाजिक गतिविधि रोकथामका लागि नेपाली सेना समेत विभिन्न स्थानमा परिचालन गरिएको छ ।