Butwal Today

सेनाले जेनजी समूहलाई वार्ताका लागि प्रतिनिधि पठाउन आग्रह

२५ भाद्र २०८२, बुधबार
अ+
अ-

काठमाडौं, २५ भदौ ।

नेपाली सेनाले जेनजी समूहलाई वार्तामा बस्न प्रतिनिधिको नाम पठाउन आग्रह गरेको छ । सेनाले बुधवार बिहान ८ बजेभित्र वार्ता टोलीको नाम उपलब्ध गराउन अनुरोध गरेको हो ।

सेनाको यो आग्रहपछि जेनजीसँग आवद्ध विभिन्न समूहहरूभित्र आन्तरिक छलफल तीव्र बनेको छ । ती समूहहरूले राजनीतिकसँगै आर्थिक क्षेत्रका जानकारहरूलाई पनि वार्तामा पठाउने विषयमा छलफल गरिरहेका छन् ।

‘हामी नेपाल’ समूहमा केही समयअघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको सहभागितासहित छलफल भएको जनाइएको छ ।

यस्तै, अघिल्लो चुनावमा डडेल्धुराबाट उम्मेदवारी दिएर चर्चामा आएका युवा सागर ढकालको नाम पनि सम्भावित प्रतिनिधिका रूपमा छलफलमा रहेको छ । उनी हाल धनगढीमा छन् ।

उक्त समूहले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठसँग पनि कुराकानी गरेको थियो । तर श्रेष्ठले आफू पार्टीप्रति प्रतिबद्ध रहेको कारण जेनजीको प्रतिनिधिका रूपमा वार्तामा बस्न नसक्ने स्पष्ट पारेकी छन् ।

यता, जेनजी आन्दोलनमा सक्रिय अन्य स्वतन्त्र समूहहरूभित्र पनि प्रतिनिधि छनोटबारे छलफल भइरहेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह वार्तामा जेनजीको तर्फबाट सहभागी हुने वा बेग्लै भूमिकामा रहने भन्ने विषयमा अझै टुंगो लागेको छैन ।

मंगलबारमात्र राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गर्दै सबै पक्षलाई वार्तामा आउन आह्वान गरेका थिए । त्यससँगै नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पनि भिडियो सन्देशमार्फत आन्दोलन स्थगन गरी वार्तामा सहभागी हुन आग्रह गरेका थिए ।

नेपाली सेनाको सहजीकरणमा वार्ताको तयारी अघि बढिरहेको छ । बालेन शाहले संसद विघटनपछि सेना प्रमुखसँग वार्ता हुनुपर्ने र जेनजी प्रतिनिधिहरूको सहभागितासहित नागरिक सरकार गठनको आवश्यकता रहेको धारणा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिसकेका छन् ।

तर वार्ताको संरचना, प्रक्रिया र सम्भावित समाधानको खाका भने अझै स्पष्ट भइसकेको छैन । प्रतिनिधि छनोटबारे छलफल भइरहेकाले आज बिहानभित्र वार्ताका लागि नाम टुंगो लाग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?