© २०२३
काठमाडौं, २५ भदौ ।
बाँकेको नौबस्तास्थित बाल सुधारगृहमा भएको झडपमा पाँच जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
सुरक्षा स्रोतका अनुसार मृतकमध्ये दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर रहेका छन् ।
गएराति सुधारगृहमा बन्दीहरू भाग्ने प्रयासमा रहेकाले स्थिति तनावपूर्ण बनेको थियो । सोही क्रममा सुरक्षाकर्मीले नियन्त्रणमा लिन खोज्दा झडप भएको थियो ।
घटनामा घाइते भएका सात जनामध्ये पाँच जनाको उपचारका क्रममा भेरी अस्पताल, नेपालगञ्जमा मृत्यु भएको पुष्टि गरिएको छ । बाँकी दुई जनाको अवस्था गम्भीर छ र उनीहरूको उपचार जारी छ ।
देशभर जेनजी आन्दोलन चर्किंदै जाँदा बाल सुधारगृहमा रहेका केही युवाहरू पनि त्यसको प्रभावमा परी भाग्ने प्रयासमा थिए । प्रहरीले रोक्ने प्रयास गर्दा झडप भएको हो । केही बन्दी भाग्न सफल भएका छन् भने केही अझै सुधारगृहभित्रै रहेका छन् ।
सुधारगृहमा जारी अवस्थाबारे सुरक्षा निकायले उच्च सतर्कता अपनाएको छ । थप अनुसन्धान र अवस्थाको मूल्यांकन जारी रहेको जनाइएको छ ।