© २०२३
काठमाडौं, २४ भदौ ।
सिंहदरबारभित्र प्रवेश गरेका प्रदर्शनकारीलाई सुरक्षाकर्मीले बलपूर्वक बाहिर निकालेका छन् । जेनजी अभियानको आह्वानमा सुरु भएको प्रदर्शन दोस्रो दिनमा प्रवेश गर्दै गर्दा केही प्रदर्शनकारी सिंहदरबारको पश्चिमी गेट हुँदै बगैचासम्म पुग्न सफल भएका थिए ।
सुरक्षाकर्मीले उनीहरूलाई तत्काल बाहिर निकालेपनि प्रदर्शनकारी पुनः प्रवेश प्रयासमा जुटिरहेका छन् । यसै क्रममा पश्चिमी गेट क्षेत्रमा तनाव चुलिएको छ।
स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले लगातार अश्रुग्यास प्रहार गरेका छन् । तर प्रदर्शनकारीले उठाएका कैयौँ अश्रुग्यासका खोल फिर्ता गरेर सुरक्षाकर्मीमाथि प्रहार गरिरहेका छन् ।
निरन्तर अश्रुग्यास प्रहारका कारण सिंहदरबार परिसर, विशेष गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वरपर पिरो धुँवाले भरिएको छ । त्यहाँ सुरक्षाका लागि ठूलो संख्यामा सशस्त्र प्रहरी, जनपद प्रहरी परिचालन गरिएको छ भने आकस्मिक अवस्थालाई ध्यानमा राखी नेपाली सेनाको दमकल पनि तयारी अवस्थामा राखिएको छ ।
सिंहदरबार चोकदेखि रामशाहपथ र पद्मोदय मोडसम्म प्रदर्शनकारीले ठाउँ–ठाउँमा टायर जलाएका छन् । सडकमा राखिएका प्लास्टिकका डिभाइडर समेत जम्मा गरेर आगजनी गरिएको छ, जसले वातावरण झन् तनावग्रस्त बनेको छ ।