Butwal Today

अवरुद्ध सडक मर्मतमा ढिलाइ 

२४ भाद्र २०८२, मंगलवार
अ+
अ-

दसैँ र तिहार नेपालको घर आँगनमा आइसकेको छ । विदेशमा रहेका नेपालीहरू घर फर्किने तयारी गरिरहेका छन् । नेपाली घर फर्किने तयारी गरिरहेको बेला ग्रामीण क्षेत्रका सडकमा भने सवारी साधन चल्ने अवस्था छैन ।

तराईमा भन्दा पहाडी जिल्लामा यो वर्ष धेरै पानी परेको छ । जसका कारण अधिकांश पहाडी सडक अवरुद्ध बनेका छन् । पहाडी सडक अवरुद्ध बन्दा यातायात सेवा प्रभावित हुनुका साथै हिँडडुल गर्न समेत समस्या उत्पन्न भएको छ ।

अहिले गाउँमा कोही बिरामी परेको अवस्थामा एम्बुलेन्स समेत जान सक्ने अवस्था छैन । गाउँ गाउँका कुनाकाप्चासम्म मोटर पु¥याउने नाममा भएको डोजर विकासको संस्कृतिले विनास निम्त्याएको छ । सडक खन्दा पहिरोले गाउँ नै विस्थापित भएको अवस्था छ ।

पहाडका गाउँघरमा कोही बिरामी परे बोकेर मूल सडक वा सहर पु¥याउनु पर्ने अवस्था छ । यही अर्घाखाँची र गुल्मी जिल्लामा भएको डोजरे विकासले जनतालाई सुविधाभन्दा पनि सास्ती भएको छ ।

विकासका नाममा अव्यवस्थित रूपमा चिरिएका पहाडमा बर्सेनी हुने पहिरोको भयलाई ख्यालख्याल सम्झिँदा जनताले पीडा खेप्नुपरेको छ ।

भौतिक विकासका नाममा पहुँचका भरमा बजेट खन्याएर भोट तान्न जथाभावी चलाइने डोजर र त्यसले जन्माएका प्राकृतिक विपत्तिबाट आज विकास हाम्रा लागि विनासको कारण बनिरहेको छ । वास्तवमा बर्खायाममा जनताले भोग्ने बर्सेनीका प्रताडनाचाहिँ राजनीतिक जुहारीजस्तो प्राथमिकतामा पर्दैन ।

चुरे क्षेत्रका नदीमा हुने दोहन र खोलाले फेरेको मार्गका कारण नेपालका तराई क्षेत्रमा ४० जिल्लामा डुबानको जोखिम रहेको एक अध्ययनले देखाएको छ । बर्खामा भेलले तराईलाई डुबाउने अनि हिउँदमा पानी नभएर काकाकुल हुनुपर्ने व्यथा छ । खोलाको कमसल बाँधलाई पानीको वेगले भत्काउँछ ।

वर्षायामका हरेक साल असार, साउन र भदौका तीन महिना तराई क्षेत्रमा मात्रै नभएर पहाडी इलाकामा पनि उत्तिकै भय छ । अर्कोतर्फ लुम्बिनी प्रदेशका केही जिल्लामा अहिले सुख्खाको अवस्था छ । रूपन्देही, कपिलवस्तु र नवलपरासीमा पानी नपर्दा धान बाली सुक्ने अवस्था छ ।

यी सवैको कारक भनेको विकासका नाममा भएको विनासको आतंक हो । पहाडमा मूल फुटनै छोडेको अवस्था छ । पानी पर्नेक्रम विस्तारै कम हुँदै गएको छ । पानी परेपनि कहिँ आरीघोप्टे बर्षा हुन्छ भने कहिँ पानी नै नपर्ने समस्या बढिरहेको छ । क्षणिक बर्षाको चुनौति बढेको छ ।

तराईमा कम पानी पर्दा पहाडी जिल्लामा अहिलेपनि निरन्तर बर्षा भैरहेको छ । बर्षा भैरहँदा पहाडी बस्तीका अधिकांश स्थानमा गुड्ने सवारीका साधन बन्द भएका छन् । त्यसमाथि डोजरले खनेको बाटोमा पहिरो, भूक्षयको जोखिम बढ्दै गएको छ । डोजरले खनेको सडक बढी जोखिममा रहेको देखिएको छ ।

एक अध्ययनका अनुसार कमजोर पहाडमा डोजरले खनेको सडक ८० प्रतिशत जोखिम रहेको देखिएको छ । ती सडकमा हिउँदमा समेत मुस्किलले यातायात सञ्चालन हुने गर्दछ ।

हतारमा गरिएको कामले विनास निम्त्याउने काम भएको छ । वातावरणीय प्रभाव मूल्याँकन नगरि गरिएका विकास योजनाले क्षणिक विकासमात्रै होइन, विनासपनि निम्त्याउने गर्छ भन्ने कुरा बल्ल देखिएको छ ।

अवको दिनमा विकास निर्माणको काम गर्दा विस्तृत अध्ययन विना गर्नुहुँदैन भन्ने कुरामा नेतादेखि योजनाबीद सवैले ध्यान पु¥याउनु जरुरी छ ।

त्यसैगरी जनप्रतिनिधिहरूले समेत विगतका गरिएको विकास निर्माणका कामको परिणाम र नतिजा हेरेर मात्रै नयाँ योजनाको खाका कोर्नु श्रेयष्कर हुन्छ ।

नेपालीको घर आँगनमा चाडपर्व आईसकेका छन तर पहाडी सडक अवरुद्ध हुँदा समस्या उत्पन्न भएको छ । तसर्थ संघीय, प्रदेश र स्थानीय सरकारले अवरुद्ध सडक खुलाउनेतर्फ शीघातीशीघ्र पहल गरुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?