Butwal Today

वडाको ‘दर्ता किताब हराएपछि विवादमा

२४ भाद्र २०८२, मंगलवार
अ+
अ-

समाचार सारांशमा


  • कपिलवस्तु, कृष्णनगर नगरपालिका–२ मा दर्ता किताब र चलानी किताब हराएको घटना बाहिरिएको छ ।


  • भदौ २२ गते सेवाग्राहीले निवेदन दर्ता गर्न खोज्दा किताब नभएको पत्ता लागेपछि विवाद सुरु भयो ।


  • सामाजिक परिचालकले किताबबारे जानकारी नभएको बताए, तर कार्यालय सहयोगीले किताब वडा सचिवकै हातमा रहेको दाबी गरे ।


चन्द्रौटा, २४ भदौ ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर–२ मा दर्ता किताब र चलानी किताब हराएको घटनाले ठूलो विवाद निम्त्याएको छ ।

वडा कार्यालय कृष्ननगरमा भदौ २२ गते सेवाग्राहीले निवेदन दर्ता गर्न खोज्दा दर्ता तथा चलानी किताब भेट्न नसकिएको तथ्य बाहिर आएपछि खैलाबैला मच्चिएको  हो ।

दर्ता किताब खोजतलासका क्रममा सामाजिक परिचालक फोटू यादवले किताबबारे आफूलाई कुनै जानकारी नभएको बताए । तर कार्यालय सहयोगी रामजी यादवले भने सो किताब वडा सचिव अनवर अहमद खानकै हातमा रहेको आफूले देखेको दाबी गरे ।

कार्यालयभित्रै कर्मचारीका फरक–फरक भनाइ आउनुले घटना थप रहस्यमय बनेको छ ।  घटनापछि वडा अध्यक्ष कृष्णकुमार गुप्ता र वडा सचिव खानबिच सम्बन्ध तनावपूर्ण बनेको छ ।

अध्यक्ष गुप्ताले किताब हराएको भन्दै इलाका प्रहरी कार्यालय कृष्णनगरमा उजुरीसमेत जनाएका छन् ।

उनले नागरिकलाई सहज सेवा प्रवाह गर्नुपर्नेमा यस्तो संवेदनशील कागजात हराउँदा जनताको सेवा प्रभावित भएको बताए । “सचिवले लगेको वा नलगेको विषयमा म निश्चित छैन, त्यसैले प्रहरीले छानबिन गरेर सत्य तथ्य बाहिर ल्याओस् भनेर निवेदन दिएको छु,” गुप्ताले स्पष्ट पारे ।

सेवाग्राहीलाई कानुन बमोजिम मिल्ने कागजात लगायत सिफारिस दिनुपर्ने उनले बताए । गुप्ताले भने ः “कानुनले मिलेसम्म सेवाग्राहीलाई उचित गुणस्तरीय सेवा प्रवाह गर्नुपर्छ ।

तर अनावश्यक रूपमा यस सचिवले दुःख दिएका छन् ।” कानुनमा तोकेर सेवाग्राहीलाई प्रभावकारी सेवा प्रवाह गर्न आग्रह गरे । यसैबिच, वडा सचिव अनवर अहमद खानले भने दर्ता तथा चलानी किताब आफूसँग भएको स्वीकार गरेका छन् ।

उनले नियम विपरीत काम गर्न दबाब आएपछि आफू त्यसरी काम गर्न नसक्ने भएकाले विवाद चुलिएको बताएका छन् । खानका अनुसार, नियमअनुसार काम गर्नुपर्नेमा दबाब सिर्जना भएपछि किताब आफूसँग राखिएको हो ।

यता कृष्णनगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शङ्कर भट्टराईले वडा सचिव र अध्यक्षको विवादले वडाका कागजात नगरपालिकामा वडा सचिवले लिएर राखेको भन्ने जानकारी प्राप्त भएको बताए ।

यो विषय म बाट मिल्न नसक्ने भएकोले मेयर र प्रमुख प्रशासकीय अधिकृत ज्यू बाहिर रहेकोले आएपछि मात्र छलफल हुने बताए । यस्तो अवस्थामा वडा नम्बर २ का सेवाग्राही भने मारमा परेका छन् ।

सामान्य सिफारिस, दर्ता वा अन्य काम गर्न पनि समस्या हुने अवस्था आएको उनीहरूले गुनासो गरेका छन् । दर्ता तथा चलानी किताब स्थानीय तहको अति महत्त्वपूर्ण अभिलेख मानिन्छ ।

यस किताबमा कार्यालयका सम्पूर्ण आधिकारिक पत्राचार र सेवासम्बन्धी विवरण दर्ता हुने भएकाले यसको सुरक्षित संरक्षण आवश्यक हुन्छ । तर यस्तो किताब नै हराएको वा रोकिएको घटनाले स्थानीय तहको शुचितामा गम्भीर प्रश्न उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?