© २०२३
काठमाडौं, २३ भदौ ।
त्रिभुवन विश्वविद्यालयले यही भदौ २४, २५ र २६ गतेका लागि तय गरिएका स्नातक तहका परीक्षा स्थगित गरेको छ ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुका अनुसार, भदौ २२ गतेदेखि सञ्चालनमा आएका चार वर्षीय स्नातक तह दोस्रो वर्ष (आंशिक तथा मौका) परीक्षामध्ये सो मितिका बिहान ७ देखि १० बजेसम्म र दिउँसो १२ देखि ३ बजेसम्म सञ्चालन हुने परीक्षा स्थगित गरिएको हो ।
त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबार बसेको बैठकले देशभर उत्पन्न भएको आकस्मिक असहज परिस्थितिलाई मध्यनजर गर्दै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । स्थगित परीक्षा आगामी असोज २, ४ र ५ गते सोही समय र सोही परीक्षा केन्द्रमा सञ्चालन हुने जनाइएको छ ।
यसअघि सोमबार जेनजी आन्दोलनका क्रममा ठूलो संख्यामा जनहानि र घाइते भएका घटनापछि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरिएको थियो ।
