© २०२३
गुल्मी, २३ भदौ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै आजबाट बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्र विवरण दर्ताको लागि सेवा प्रवाह गर्न सुरु गरेको छ । यस अघि नियमित रूपमा कार्यालय समयमा नागरिकलाई सेवा प्रवाह गर्दैैै आएको प्रशासनले कार्यालयमा दिउसोको समयमा सेवाग्रहीहरुको अत्यधिक चाँप बढेपछि आज बिहानबाट थप सेवा प्रवाह गर्न सुरु गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत तारानाथ फुल्लेलले जानकारी दिएका छन् ।
कार्यालयले आइतबार सार्वजनिक रूपमा सूचना प्रकाशित गरि सर्वसाधारणलाई यस विषयमा जानकारी समेत गराइसकेको छ । जिल्ला प्रशासन कार्यालयमा दिनहुँ बिहानैदेखि बेलुकी अबेरसम्म पनि सेवाग्राहीहरूको अत्यधिक भिडभाड हुने भएका कारण आज बिहान ८ बजेदेखि दैनिक रूपमा दुई घण्टा अघिदेखि सेवा सञ्चालन गर्न थालिएको हो ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तारानाथ फुल्लेलका अनुसार बिहानी सत्रमा नयाँ परिचयपत्र बनाउनेहरूका लागि मात्र विवरण दर्ता गरिने जानकारी दिएका छन् । उनले यस अघि विवरण दर्ता गरिसकेका र सच्याउनु पर्ने र वितरण गर्ने परिचय पत्रको हकमा भने दश बजेपछि मात्र सेवा प्रदान गरिने बताइएको छ ।
सरकारले सरकारी एवं वित्तीय क्षेत्र र सामाजिक सुरक्षा भत्ता लगायतका कामकाजका लागि राष्ट्रिय परिचयपत्र विवरण अनिवार्य गरेपछि गुल्मीमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्ने सेवाग्राहीहरूको अत्यधिक चाँप हुने गर्दछ । थोरै कर्मचारी, सेवाग्राहीहरू धेरै आउने, ज्येष्ठ नागरिकहरूको बढी चाँप हुने र समय समयमा सर्बर नचल्ने जस्ता समस्याका कारण बिहानी सत्रको सेवाले नागरिकलाई थप सहयोग पुराउने अपेक्षा गरिएको प्रशासकीय अधिकृत फुल्लेलले बताए ।
गुल्मीमा नयाँ राष्ट्रिय परिचयपत्र विवरण दर्ता गराउनेहरूको सङ्ख्या दैनिक रूपमा सरदर एक सय २० देखि एक सय ३० र परिचयपत्र लिन आउने सेवाग्राहीहरूको सङ्ख्या सरदर एक सय दशदेखि २० जनासम्म हुने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बिहानैदेखि सेवा सुचारु भएसँगै यति बेला जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीहरूको चाँप बढ्न थालेको छ ।