© २०२३
गुल्मी, २३ भदौ ।
देश सङ्घीय संरचनामा गइसकेपछि पछिल्लो समयमा स्थानीय तहहरूमा विकास निर्माणको काम तीव्र रूपमा अगाडि बढ्दै गएको छ । गाउँमा अप्ठ्यारा भीरपाखाहरू मोटर बाटाले छिचोलिएका छन् भने, हिजोसम्म धुलाम्मे र हिलाम्मे सडकहरू समेत पक्की भएका छन् ।
गाउँ र नगरमा विकासले फड्को मार्दै गएको छ । तर यही पछिल्लो समयमा विकास र सुविधाहरू गाउँ पसेसँगै त्यसको उपयोग र उपभोग गर्ने मानिसहरू भने सहर केन्द्रित हुन थालेका छन् ।
तिनै नागरिकहरूलाई गाउँमै समृद्धिको विकासको अनुभूति गराउने काममा यति बेला रेसुङ्गा नगरपालिका लागि परेको छ । नागरिकहरूलाई विकासको नमुना अनुभूति गराउन रेसुङ्गा नगरपालिकाले पछिल्लो तीन वर्षमा ६४ किलोमिटर सडक कालोपत्रे गरिसकेको जनाएको छ ।
जिल्ला सदरमुकाम तम्घाससँगै रहेको उक्त नगरपालिकाले नगर क्षेत्र भित्रका १४ वटा वडामा तीन वर्षको अवधिमा ६४ किलोमिटर सडक कालोपत्रे र ढलानको काम गरेको हो ।
रेसुङ्गा नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा २४ किलोमिटर, २०८०/०८१ मा १७ किलोमिटर र आर्थिक वर्ष २०८१/०८२ मा २३ किलोमिटर गरी कुल ६४ किलोमिटर सडक पक्की गर्न सफल भएको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले बताएका छन् ।
रेसुङ्गा नगरपालिकाले वडा नम्बर ३ मा बेंहोरे, भनभने–नुनथला–बाँझीपोखरी, तम्घास भाडागाउँ बाँझा घाट आरसिसी ढलान र कालोपत्रे गरी पक्की सडक निर्माण गरेको छ । वडा नं. ६ थामा, वडा नम्बर ४ अर्खलेमा स्वामीका रुख–मसिनापोखरी, सेउघा–बलालका बारी, रायढुङ्गा–खाम्सेपानी र डिएनडी चोक–भण्डारी टोल सडकहरूमा आरसिसी ढलान, नाली निर्माण र कालोपत्रे गरिएको छ ।
वडा नम्बर १३ अन्तर्गत दुबीचौर सडक, ढिँकीडाँडा–नुनथला सडक, वडा कार्यालय जाने सडक, पधेंराखोला–कालिका मन्दिर र सिराना घुम्ती–कल्लेरी–गुल्मीदरबार सडक कालोपत्रे गरिएको छ ।
रेसुङ्गा नगरपालिकामा तीन आर्थिक वर्षमा खाम्सेपानी–भुवनपानी–रातडाँडा, तम्घास बजार क्षेत्र, तम्घास–रेसुङ्गा, खाम्सेपानी–नेटाखर्क, आदर्शचोक–सेतोगुराँस, सेउघा–सिमाघाट र घुम्ती–तम्घास सडक समेत पक्की भैसकेको रेसुङ्गा नगरपालिकाका इन्जिनियर कृष्ण कोईरालाले जानकारी दिएका छन् ।
त्ययसैगरि एभरग्रीन–कारागार, थापाटोल, खाम्सेपानी–बर्दबास, पोखरेलटोल–सानी पिपल, रानीगाडे, साउनेखोला–लामडाडा,आठबिसे–अत्तरकाँडा–बालकाटे र लाम्पटा–डाँडाखर्क–बरारुख सडक पक्की बनेका छन् । तम्घास–खाम्सेपानी, तम्घास–नेटा, नेटा–अडबिसे, रातडाँडा–सिमलपाटा कृषि, देउराली–कमेरेपानी, आदर्श बोडिङ्–पुतलीबजार, कोलेनिका –रेसुङ्गा स्कुल र आदर्शचोक–सेतो गुराँस सडक पनि पक्की भैसकेका छन् ।
नगरपालिकाले साखिने–कुँडापानी, भुजेलटोल–एभरग्रीन, पाँचदोबाटो–हुँगेली टोल, पाँचदोबाटो–थुम्का, बजाज सोरुम–जिल्ला प्रहरी– शिवालय टोल र पाण्डेटोल–मरासिनी टोल सडक समेत पक्की बनेका छन् ।
त्यसैगरी बगालेखोला, चारीखोला, विद्युत् रिङ्रोड, फेरा–भुल्के, धरमपानी, आमडाँडा, थापाटोल, दह–रैया, उर्लेनी, ह्वाक्ने छहरा–बुढीझिर्मी र गर्जुरा–पराल्मी सडक पनि कलोपत्र र आरसिसी ढलान गरिएको प्रमुख प्रशासकीय अधिकृत बावुराम पल्लीले बताए ।
नगरपालिका भित्र आर्थिक वर्ष २०८१÷०८२ मा सडक निर्माणको कामसँगै अन्य विकास बजेट अन्तर्गत ९२ करोड रूपैयाँ बरावरको काम भैसकेको बताईएको छ । रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले सडक पूर्वाधार नै विकास निर्माणको मुख्य आधार स्तम्भ भएको बताएका छन् । उनले नगरपालिका भित्र पाँच वर्षको अवधिमा कुल एक सय किलोमिटर सडक पक्की गर्ने लक्ष्य रहेको बताए ।