© २०२३
तुलसीपुर, २३ भदौ ।
भुमे–७ पूर्वी रुकुमकी भावना बुढाको घरमा बिजुली बल्न थालेको धेरै भयो तर सानोतिनो समस्या आउँदा पनि समयमै प्राविधिक नहुँदा लामो समयसम्म कुर्नुपर्ने अवस्था सृजना भएको थियो । “कहिलेकाहीँ त सामान्य बिग्रँदा पनि महिनौँ कुर्नुपर्थ्यो” उनले भनिन् ।
यस्तै समस्याका बिचमा इलेक्ट्रिसियनको तालिम लिइरहेकी भावना अहिले निकै खुसी छन् । “अब आफ्नो घरको मात्रै होइन अरूको घरको पनि बत्ती बाल्न सक्ने आत्मविश्वास पलाएको छ ” उनले भनिन् ।
थवाङ गाउँपालिका–१ का विशाल विक पनि तालिममा सहभागी हुन पाउँदा निकै खुसी छन् । स्थानीय बिर वलभद्र माविमा कक्षा १२ मा अध्ययनरत उनले सीप सिकेर आत्मनिर्भर हुन सकिने भएको हुँदा तालिममा सहभागी भएको बताए ।
“गाउँघरमा सानो सानो कामका लागि पनि अरूलाई खोज्नुपर्दछ अव आफैले सिकेपछि सजिलो हुने भयो” उनले भने । दूर्गममा रहेका बालबालिकाहरूलाई लक्षित गरेर टंकप्रसाद आचार्य फाउन्डेशनको सहयोग र ग्रीन फाउन्डेसन नेपालको आयोजनामा भएको १५ दिने आधारभूत बिल्डिङ इलेक्ट्रिसियन तालिममा थवाङ आपपासका ३० जना युवाहरूको सहभागिता रहेको ग्रीन फाउन्डेशन नेपालका अध्यक्ष घनश्याम पाण्डेले बताए ।
उनले विकट ठाउँका युवाहरूलाई स्वरोजगारसँग जोड्नका लागि यस्तो कार्यक्रम सञ्चालन गरिएको बताए । तालिमको प्राविधिक समन्वय तुलसीपुर बहुप्राविधिक शिक्षालयले गरिरहेको छ । शिक्षालयमा इलेक्ट्रिकल अध्ययन गरेका विद्यार्थीहरूले प्रशिक्षण दिएका छन् । विद्यार्थीहरूले सिकेको सिपलाई दुरदराजमा पु¥याउनका लागि तालिमको आयोजना गरिएको शिक्षालय प्रमुख वसन्त आचार्यले बताए ।