© २०२३
काठमाडौं, २३ भदौ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । जेनजी आन्दोलन दमनको क्रममा सरकारले ‘नरसंहार’ गरेको दाबी पनि माओवादी नेताहरूले गरेका छन् ।
‘जनतासँग माओवादी : मध्यपहाडी पुष्पलाल लोकमार्ग–जनजागरण अभियान’ अन्तर्गत गोरखामा रहेका शीर्ष नेताहरूको अनौपचारिक बैठकले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो ।
जेनजी आन्दोलनका क्रममा सरकारले प्रदर्शनकारी प्रति देखाएको व्यवहार अनुचित रहेको माओवादीको भनाइ छ । परिस्थितिलाई सम्हाल्न प्रधानमन्त्रीले नै जिम्मेवारीसहित राजीनामा दिनुपर्ने निष्कर्षमा बैठक पुगेको माओवादी नेताहरूले बताएका छन् ।
जेनजेड आन्दोलनमा हालसम्म १५ जनाको मृत्यु भइसकेको छ । यो घटनापछि माओवादीले चलाइरहेको अभियान स्थगित गरी शीर्ष नेताहरू काठमाडौं फर्कने भएका छन् ।
अभियान टोलीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष, अन्य उपाध्यक्षहरू तथा महासचिव स्वयं सहभागी थिए । सबै नेता अभियान स्थगित गरेर काठमाडौं फर्किएको माओवादी सांसद माधव सापकोटाले जानकारी दिए ।
“सरकारले ताक्ताकै गरी गोली प्रहार गर्यो । यो हत्या मात्र नभई नरसंहार हो,” शीर्ष नेताहरूको निष्कर्ष सुनाउँदै सांसद सापकोटाले भने । उनका अनुसार प्रधानमन्त्री ओलीले राजीनामा दिएर वातावरण सहज बनाउन सहयोग गर्नुपर्नेमा नेताहरूको एकमत छ ।