Butwal Today

२३ औँ लिस्नु कपमा अन्तिम चारको टुङ्गो 

२३ भाद्र २०८२, सोमबार
अ+
अ-

बुटवल, २२ भदौ ।

रुपन्देहीमा जारी २३ औँ लिस्नु कप २०८२ प्रतियोगिताको अन्तिम चारको टुङ्गो लागेको छ । आइतबार भएको अन्तिम क्वाटरफाईनल खेलमा अभिषेक चर्च रजहरले कपिलवस्तु–११ लाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

यशोदा फुड्स प्रालिको मुख्य प्रायोजन, तिलोत्तमा नगरपालिकाको सहप्रयोजन तथा लिस्नु युवा क्लबको आयोजनामा भएको खेलमा अभिषेक चर्चले कपिलवस्तु–११ लाई २–१ गोल अन्तरले पराजित गरेको हो । मङ्गलवार पहिलो सेमिफाइनल खेल गोर्खा ब्याईज बुटवल र अञ्चलपुर युवा क्लब सिद्धार्थनगरका बिचमा हुने प्रचार संयोजक सुमन गुरुङले बताए । यसै गरी बुधवार दोस्रो सेमिफाइनल खेल फर्साटिकर युवा क्लब र अभिषेक चर्च रहजरका बिचमा हुने छ ।

तिलोत्तमा नगरपालिका–१५, कोटिहवा स्थित पशुपति माविको खेलमैदानमा भएको खेलमा अभिषेक चर्चको जितमा मनिष तामाङले खेलको ९ औ मिनेट र युवराज ढकालले ७३ औ मिनेटमा गोल गरे ।  खेलमा अभिषेक चर्चका युवराज ढकाल प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

प्रतियोगिताको विजेता टिमले नगद ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ तथा उपविजेताले नगद २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक पदमबहादुर थापाले बताए । यसै गरी सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षकलाई १२ हजार ५ सय, सर्वाधिक गोलकर्तालाई १२ हजार ५ सय, राइजिङ खेलाडीलाई १२ हजार ५ सय र प्रत्येक दिनको सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार, अनुशासित टिमलाई आकर्षक ट्रफी प्रदान गरिनेछ ।

भदौ १४ देखी २७ गतेसम्म संचालन हुने प्रतियोगितामा आयोजक लिस्नु युवा क्लब तिलोत्तमा, झरना स्पोट्र्स क्लब तिलोत्तमा, फर्साटिकर एफसी, फर्साटिकर, भैरहवा अञ्चलपुर युवा क्लब सिद्धार्थनगर, सम्पूर्ण युवा क्लब तिलोत्तमा–१४, सुपौली, अभिषेक चर्च, रजहर नवलपरासी, गोर्खा ब्याईज बुटवल, देवदह ब्याईज खैरेनी, वालिङ–११ वालिङ नगरपालिका, पाल्पा–११ पाल्पा, नवलपरासी–११ नवलपरासी र कपिलवस्तु–११, कपिलवस्तु गरी १२ वटा टिमको सहभागिता रहेको छ ।