© २०२३
काठमाडौं ।
जेनजी आन्दोलनका क्रममा यो समाचार तयार पार्दासम्म १४ जनाले ज्यान गुमाएका छन् । नयाँबानेश्वरस्थित संसद भवन परिसरमा प्रवेश गरेका प्रदर्शनकारीमध्ये एक जनाको त्यहीँ मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, घाइते भई विभिन्न अस्पताल पुर्याइएकामध्ये थप १३ जनाको मृत्यु भएको छ ।
सबैभन्दा बढी मृत्यु राष्ट्रिय ट्रमा सेन्टरमा भएको छ, जहाँ ६ जनाको ज्यान गएको छ । त्यस्तै, एभरेष्ट अस्पतालमा ३, सिभिल अस्पतालमा ३, सिनामंगलस्थित केएमसी र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १/१ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
प्रदर्शनकारीसँगै सशस्त्र प्रहरी र नेपाल प्रहरीका थुप्रै कर्मचारी घाइते भएका छन् भने उनीहरूको विस्तृत विवरण आउन बाँकी छ ।
घाइतेको चाप बढेपछि मीनभवनस्थित सिभिल अस्पतालले बिरामीलाई अन्य अस्पतालमा रिफर गरिरहेको छ । विभिन्न अस्पतालमा निधन भएका घाइतेलाई पनि सिभिल अस्पतालमार्फत रिफर गरिएको थियो ।
हालसम्म मृतकहरूको परिचय खुलेको छैन । प्रहरी टोलीले विभिन्न अस्पतालमा पुगेर मुचुल्का संकलन कार्य जारी राखेको छ ।