© २०२३
वासिङ्टन डीसी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी महिनामा दक्षिण कोरियाको भ्रमणमा जाने देखिएको छ । दक्षिण कोरियामा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन ट्रम्प त्यसतर्फ जाने सम्भावना रहेको भन्दै सीएनएनले समाचार प्रकाशित गरेको छ ।
यस भ्रमणका क्रममा ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग द्विपक्षीय भेटवार्ता गर्ने तयारीसमेत भइरहेको मिडिया रिपोर्टमा उल्लेख छ। तर ह्वाइट हाउसले यसबारे औपचारिक घोषणा भने अझै गरेको छैन ।
सीएनएनले शनिबार ट्रम्प प्रशासनका अधिकारीलाई उद्धृत गर्दै ट्रम्प र उनका शीर्ष सल्लाहकारहरूले शिखर सम्मेलनका लागि तयारी गरिरहेको जनाएको छ । अक्टोबरको अन्त्य र नोभेम्बरको सुरुमा ग्योङजुमा हुने उक्त सम्मेलनलाई ट्रम्प र सीबीचको भेटका लागि महत्त्वपूर्ण अवसरको रूपमा हेरिएको छ ।
तर अहिलेसम्म ठोस कार्यक्रम तय नभएको अधिकारीहरूको भनाइ उद्धृत गरिएको छ । गत महिना ट्रम्प र सीबीच भएको फोन वार्तामा सिले ट्रम्पलाई श्रीमतीसहित चीन भ्रमण गर्न निमन्त्रण दिएका थिए। ट्रम्पले सो निमन्त्रणामा सहमति जनाए पनि भ्रमणको मिति तोकिएको थिएन ।
मिडिया रिपोर्टअनुसार, ट्रम्पले दक्षिण कोरियामा उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट्ने सम्भावना पनि रहेको बताइएको छ । तर किम एपेक शिखर सम्मेलनमा सहभागी हुने–नहुने अझै निश्चित छैन ।
गत हप्ता वाशिङ्टन भ्रमणका क्रममा दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले ट्रम्पलाई शिखर सम्मेलनमा सहभागी हुन औपचारिक निमन्त्रण दिएका थिए। सी र किम दुवैसँग सम्बन्ध तनावपूर्ण भइरहेका बेला ट्रम्पको भ्रमण चर्चामा आएको हो ।
यसअघि तियानजिनमा सम्पन्न शाङ्घाई सहयोग संगठन शिखर सम्मेलनमा सी जिनपिङले उत्तर कोरियाली नेता किम जोङ उन, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका थिए । ती भेटवार्ताको आलोचना गर्दै ट्रम्पले सीमाथि अमेरिकाविरुद्ध षडयन्त्र गरिरहेको आरोप लगाएका थिए ।