© २०२३
काठमाडौँ, २२ भदौ ।
नेकपा (एमाले) ले देशभरका ६८ जिल्लामा आफ्नै भवनमा पार्टी कार्यालय सञ्चालन भइरहेको जनाएको छ । बाँकी ९ जिल्लामा भने अझै आफ्नै भवन बनेका छैनन् ।
ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा पेस भएको लेखा आयोगको प्रतिवेदनमा भनिएको छ, “भूगोलका ६८ जिल्ला कमिटीहरूका आफ्नै स्वामित्वका भवन छन् ।”
प्रतिवेदनअनुसार भोजपुर, रुपन्देही, बागलुङ, मुस्ताङ, मनाङ, काठमाडौँ, भक्तपुर, रसुवा र डोल्पा गरी ९ जिल्लामा पार्टी स्वामित्वको भवन छैन । तर भोजपुर, रुपन्देही र बागलुङमा भने जमिन भएको तर भवन निर्माण भइसकेको छैन ।
नयाँ जिल्ला पूर्वी रुकुम र नवलपुरले आफ्नै भवन निर्माण गरिसकेका छन् । सल्यान र डडेल्धुरामा भवन र जमिन भए पनि पार्टीको नाममा दर्ता नभएको प्रतिवेदनमा उल्लेख छ । पश्चिम रुकुम र जाजरकोटमा भवन भए पनि भूकम्पका कारण जीर्ण अवस्थामा रहेको छ ।
महानगर–उपमहानगरमध्ये धरान र इटहरी उपमहानगरपालिकाका आफ्नै व्यवस्थित भवन छन्, जहाँ पार्टी कार्यालय सञ्चालनमा छ । स्थानीय तहका अन्य पालिकामा पनि भवन वा जग्गा रहे पनि आयोगमा पूर्ण विवरण प्राप्त नभएको प्रतिवेदनमा उल्लेख छ ।
जनसङ्गठनतर्फ जिफन्टसँग मात्र आफ्नै भवन रहेको प्रतिवेदनमा उल्लेख छ । पेसागत महासङ्घ, नेपालको विगतमा आफ्नै भवन रहे पनि विभाजनपछि प्रयोगमा नरहेको विवरण प्रतिवेदनमा समावेश गरिएको छ ।