© २०२३
संयोगजन्य सुख र अभिमानजन्य सुखको प्राप्ति, भोग र सञ्चितिको लागि हाम्रा सम्पूर्ण प्रयासहरू केन्द्रित हुन्छन् । जुनसुकै धर्म र जातिको भएपनि अनन्त कालसम्म यही नै प्रकृया चलिरहन्छ ।
मानव जातिको विकासक्रम धेरै धेरै संघर्ष र घटना परिघटना घट्दै घट्दै आजको दिनसम्म आईपुगेको छ । यही देश बन्ने क्रममा हामी हाम्रो देश नेपाल पनि बन्यो । देशको भूगोल निर्माणको क्रममा कहिले हामी अलिकति बढ्यौँ त कहिले खुम्चियौँ ।
यसमा धेरै हाम्रा पुर्खाहरूको सुझबुझ, बलिदानी र कतै कमजोरी पनि भयो होला । आज यो आलेखमा हाम्रा धेरै अग्रजहरू नाम नलिईकन सम्मान मात्रै प्रकट गर्दछु । किनकि लेखमा कतै कसैको नाम छुटेमा उहाँप्रतिको सम्मानको कमी हुनेछ ।
त्यसैले नामतिर नलागी सबैलाई एकमुष्ट सम्मान मात्रै व्यक्त गरेँ । पृथ्वी कसरी बन्यो, जीवको सुरुवात कसरी भयो, कहिले भयो यस्ता धेरै अनुत्तरित प्रश्नहरू जस्तै बसाईसराईको क्रम माथि नै उल्लेख गरे जस्तै संयोगजन्य सूत्र र अभिमानजन्य सुखको लागि प्रयास गर्दागर्दै हाम्रा पुर्खाहरू पनि नेपालबासी बन्नुभयो । आजको दिनमा हामी नेपाली हो, नेपाल हाम्रो देश हो ।
यो आलेखकर्ताले जतिसुकै चाहे पनि हाम्रो उत्पत्ति बारेमा न त वैज्ञानिक कारण न त धार्मिक कारणको खोजी गर्दैगर्दा अवैज्ञानिक कारण मतलब विज्ञानको विकासले उजागर गरेको तथ्यमा पूर्ण जवाफ भेट्छ ।
न त धार्मिक ग्रन्थमा हाम्रो उत्पत्तिको बारेमा पूर्ण सत्य भेटाउँछ, न आफै खोज्न सक्छ तर यो आलेककर्तालाई के लाग्छ भने विकसित देशहरूको सस्तो श्रमको स्रोत जुन अहिले हामी छौँ, आयातले धानेको देशको सरकारी खर्च आयातमा निर्भर हामी आमसाधारण उपभोक्ता आयातको पहुँचमा निर्भर हाम्रा व्यवसायी, वैदेशिक रोजगारीले धानेको रोजगारी रेमिट्यान्सले परिपूर्ति गरेको हाम्रो व्यापार घाटा, नैरस्यताको व्यापार गरेर बनेका दल र दलका नेताहरूको कारणले युवाविहीन देश बन्न लागिसक्यो ।
मध्यम वर्गीय व्यवसायी या त विदेश पलायन या आत्महत्या गर्ने स्थितिमा पुगेका छन् । यसलाई रोक्न पहल गर्नुपर्छ, सक्नुपर्छ र सुरुवात गर्नुपर्छ भन्ने लागेर यो लेख लेख्न खोजेको हो । जसरी हाम्रो व्यक्तिगत पारिवारिक इज्जत प्रतिष्ठा हुन्छ त्यसैगरी देशको पनि इज्जत हुन्छ र प्रतिष्ठा हुन्छ । जानेर नजानेर, नियतबस, भूल बस नेपाल र नेपालीको प्रतिष्ठा धेरै गिराउने काम भएको छ ।
आशा भन्दा पनि निराशाको बढाईचढाई गरिएको छ । निराशा थप्ने होइन आशाको सञ्चार गरेर राजनीति गर्ने परम्पराको थालनी गरौँ । प्रतिशोधपूर्ण राजनीतिको अन्त्य गरौँ । वर्तमान शिक्षा प्रणालीले युवा वर्गलाई अवसरको खोजीमा गाउँदेखि सहर, सहरदेखि अझै ठूलो सहर हुँदैहुँदै विश्वका ठूला सहरहरूमा पु¥याएको छ ।
जसरी चीनमा सस्तो श्रम, ठूलो जनसंख्या र त्यो देशको सुझबुझपूर्ण राजनीतिकर्मीले विदेशी लगानीकर्तालाई आकर्षण गर्न सके गरे । लगानीकर्ताले पनि सहज वातावरण देखेर विश्वकै उत्पादन केन्द्रको रूपमा चीनलाई उभ्याए लगानीकर्ताले पनि लाभ लिए, रोजगारीको पनि सिर्जना भयो, अर्थतन्त्रले आकार लियो र आज हिजो सस्तो श्रमको लागि लगानीकर्ताको आकर्षण स्थलको रूपमा रहेको देश चीन विश्वकै दोस्रो आर्थिक सम्पन्न देश भएको छ ।
त्यसैगरी हाम्रा युवाहरूले पनि ठूला सहरहरूमा ठूला उद्योग कलकारखाना, प्रविधिका क्षेत्र, सेवामूलक क्षेत्र, ठूलाठूला व्यावसायिक घरानाहरूमा सानोदेखि ठूला पदमा काम गर्ने अवसर पाएका छन् । हाम्रो देशको व्यापारघाटा विदेशमा बस्ने नेपालीहरूले पठाएको रेमिट्यान्सले चलेको छ, धानेको छ ।
अब यसमा मात्रै सीमित नरहेर यिनीहरूले सिकेको सिप, क्षमता र भोगाइलाई राष्ट्रिय हितमा कसरी प्रयोग गर्ने भन्नेतर्फ ध्यान र चासो दिनु आवश्यक छ । आयातमा भन्सार लगाएर धानिएको सरकारको खर्चलाई निर्यातमुखी अर्थतन्त्रको रूपमा कसरी विकास गर्न सक्ने ? भन्ने विषयमा अव ठूलो बहस र छलफल चाहिएको छ ।
इतिहासमा जापान र चीनबीच लामो समयसम्म द्वन्द र अविश्वास रह्यो । दोस्रो विश्वयुद्धका समयमा जापानी आक्रमणले चीनमा ठूलो विनास भयो । मानवीय क्षति भयो । ठूलो अपमान भयो । यसको कारणले चिनिया जनतामा जापानप्रति गहिरो रिस र घृणा मनमा बस्यो तर पनि सन् १९७० को अन्त्यतिर र पछिको दशकमा देङ स्याओ पिङको आर्थिक सुधार कार्यक्रम अन्तर्गत चीनले विदेशी लगानीका लागि ढोका खोल्यो । त्यो समयमा जापान अर्थतन्त्रमा निकै अगाडि बढिसकेको थियो ।
जापानी लगानीकर्ताले ठूलो पूँजी प्रविधि चीनमा ल्याए । धेरै ठूला उद्योग, कलकारखानाहरू स्थापना भए, सुरु भए । चिनियाँ जनतालाई यसमा सहमत गराउन सजिलो थिएन तर पनि देशको आवश्यकताको लागि नेतृत्वले प्रष्ट भन्यो– जापानी लगानी स्वीकार गर्नु भनेको विगतको पीडा भुल्नु होइन । देशको अहिलेको आवश्यकता रोजगारीको सिर्जना र विदेशी लगानी भित्राउनु हो ।
सुझबुझपूर्ण नेतृत्वले जनतालाई विश्वासमा लियो र देशको अर्थतन्त्रलाई मजबुत बनाउन सक्यो । यदि चीनले जापानको लगानी अस्वीकार गरेको भए, खोक्रो राष्ट्रवाद देखाएको भए आजको विश्वको दोस्रो अर्थतन्त्रको रूपमा चीन उभिन सक्थ्यो होला ? आतंकवादको जड गरिबी हो, अभाव हो ।
आतंकवादलाई कम गर्न, निस्तेज गर्न गरिब राष्ट्रलाई पनि केही माथि उठाउन सक्नुपर्छ र यसमा विकसित देशले आफ्नो आम्दानीको केही अंश गरिब देशको विकासमा खर्च गर्नुपर्छ भन्ने विचारबाट एमसीसी परियोजना सुरु भएको हो ।
विभिन्न देशका विकासका सम्भावनाहरूमा एमसीसी परियोजनाले काम गरेजस्तै नेपालको पनि अति गुणस्तरहीन सडक मार्ग र नेपालको एउटा सम्भावना भएको क्षेत्र जलविद्युतलाई अगाडि बढाउन केही सहयोग गर्ने हेतुले विद्युत प्रसारण लाइन र केही किलोमिटर बाटो जो नेपालकै आग्रहमा लामो समयको प्रयासबाट स्वीकृत भयो ।
लामो समयको बहस छलफलबाट यही क्षेत्रमा एमसीसीले लगानी गर्ने भयो तर हाम्रो खोक्रो राष्ट्रवादले केही समय यसलाई अल्झ्याउन बल्झ्याउन सक्दो प्रयास गरियो । एकले अर्कोलाई दोषारोपण गर्दै केही समय अल्झ्यायो पनि र बल्ल बल्ल आज आएर एमसीसी परियोजना कार्यान्वयनको चरणमा अगाडि बढेको छ ।
जीविकोपार्जनमा सहजता बिनाको खोक्रो राष्ट्रवादले पनि हामीलाई कतैकतै अविकसित देशको रूपमा रहन बाध्य बनाएको छ । यसलाई हामीले स्वीकार गर्नैपर्छ । हिजो राजनीतिक दलबाट, सरकारी कर्मचारीबाट, जनताबाट राम्रा नराम्रा धेरै काम भएका छन ।
विकसित देश भई नसकेको सिस्टमको पुरै पालना हुने परम्पराको थालनी नभएकोले हाम्रा केही उच्च ओहोदामा पुगेका सरकारी अधिकारीहरूले ठूलो रकम आर्जन गर्नुभएको छ । यसको स्रोत खुलाउन सक्नुहुन्न ।
यस्ता धेरै व्यक्तित्वहरू अहिले विदेशमा हुनुहुन्छ । उहाँहरूले ठूलो रकम विदेश लैजानुभएको छ । अब स्वदेश फर्किँदा कतिबेला कुन कारणले समातिन्छ भन्ने भय छ । यसमा उहाँहरूलाई आश्वस्त पार्दै कुनै बाटो निकालेर ठूलो लगानी र उहाँहरूलाई स्वदेश फर्काउन सक्ने र फर्किन मिल्ने वातावरण बनाउनुपर्छ । अहिलेको जमाना भनेको, समय भनेको हामीलाई ठूलो पूँजीको आवश्यक परेको छ ।
जो हाम्रो आफ्नै दाजुभाईहरू हुन् र यिनीहरूसँग भएको पूँजीको लाभ किन विदेशीलाई हुन दिने ? यसमा अलि विचार पु¥याउन सकौँ । विश्व मानचित्रमा हाम्रो भुगोल सानो भएपनि सगरमाथा, सनातन धर्मले मानेको धेरै पवित्रस्थल, गौतमबुद्धको जन्मस्थल, कसैको पराधिन नभएको देश, बीर गोर्खालीको देश, एकिकरणको सुत्रधार वडामहाराज पृथ्वीनारायण शाह जसको नाम लिँदा पनि हामीलाई गौरव लाग्दछ ।
एउटै लेखमा सबैकुरा समेट्न अलिकति नपुग्ने । हिजो विकासक्रममा कहीँ कतै त्रुटी हामी सबैबाट भएको छ । कतै त्रुटी गर्दागर्दै पनि राम्रो भएको छ । धेरै ठाउँमा राम्रा प्रयास पनि भएका छन । अव एकले अर्कालाई दोषारोपण भन्दा पनि देश विदेश जहाँ बसेपनि एकचोटीको नेपाली सधैको नेपाली नै हो ।
विश्वभरि छरिएका नेपाली मुलबासी जो नागरिकताबिहीन छन, तिनको तथ्याँक निकालेर नागरिकतामा उनीहरूको अधिकारलाई सुचिश्चित गर्नुपर्दछ । अझै भुटानी शरणार्थी जो नेपाली मुलबासी हुन, उनीहरूलाई नेपाली बराबरको अधिकार दिएर नागरिकजनमा राज्यको अभिभावकीय भूमिका कस्तो हुन्छ र देशको महत्व किन हुन्छ भन्ने विश्वास दिलाउन सक्नुपर्दछ ।
शासकीय स्वरूप, संघीयता, राज्य साधनको भूमिका र हिन्दु राष्ट्रको बिषयमा अब आन्दोलन गर्न नपर्ने गरि देशको अभिमान र १० वर्षमा ३०० खरबको जिडिपीलाई केन्द्रमा राखेर त्यो लक्ष्यमा पुग्न के के गर्नुपर्छ, त्यो गर्नेतर्फ लागि हालौ । ०८४ का कुरा ०८४ मा गरौला ।