© २०२३
बैंकक, २२ भदौ ।
थाइल्यान्डका नवनिर्वाचित प्रधानमन्त्री अनुतिन चार्नविराकुलले आइतबार पदभार ग्रहण गरेका छन् । थाई समाचार एजेन्सीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्बिरमा प्रधानमन्त्री अनुतिन राजा महा वजिरालोङकोर्नको तस्बिरअगाडि नतमस्तक भएको देखिन्छ ।
‘महामहिम राजाले अबदेखि श्री अनुतिन चार्नविराकुललाई प्रधानमन्त्रीका रूपमा अनुमोदन गर्नुभएको छ,’ संसद्को तल्लो सदनका महासचिव अर्पथ सुखानुन्थले भुमजाइथाई पार्टीको मुख्यालयमा आयोजित कार्यक्रममा शाही आदेश वाचन गर्दै घोषणा गरे ।
५८ वर्षीय अनुतिन यसअघि उपप्रधानमन्त्री, गृहमन्त्री र स्वास्थ्य मन्त्रीका रूपमा कार्यसम्पादन गरिसकेका छन् । उनी दुई वर्षभित्र देशका तेस्रो प्रधानमन्त्री बनेका हुन् ।
गत शुक्रबार सदनमा भएको मतदानमा उनले ४९२ मध्ये ३११ मत प्राप्त गरी प्रधानमन्त्री बनेका हुन् । उनका प्रतिस्पर्धी, फ्यु थाई पार्टीका उम्मेदवार चैकासेम नितिसिरीले १५२ मत पाए भने २७ सांसद तटस्थ बसे ।
अनुतिनले प्रगतिशील पिपुल्स पार्टीको समर्थनमा लोकप्रिय फ्यु थाई पार्टीलाई सत्ताबाट हटाएका हुन् । फ्यु थाई पार्टी सन् २०२३ को चुनावयता कार्यकारी सत्तामा थियो ।
तर पार्टीकी नेतृ पेटोङटार्न सिनावात्रालाई गत महिना अदालतले प्रधानमन्त्री पदबाट बर्खास्त गरेपछि सत्ता समीकरण फेरिएको हो ।