© २०२३
काठमाडौँ, २२ भदौ ।
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ता विधि र कानुनबारे स्पष्ट छन् भन्ने कुरामा विश्वास व्यक्त गरेका छन् ।
सोमबार सामाजिक सञ्जालमा ‘नेपो बेबी’ ट्रेन्डका बीच जेनजी युवाहरूले सडक प्रदर्शनको घोषणा गरेपछि प्रधानमन्त्री ओलीले कुनै पनि व्यक्तिले विधि वा कानुन उल्लंघन गर्न नपाउने स्पष्ट टिप्पणी गरेका हुन् ।
ललितपुरको गोदावरीमा सम्पन्न एमालेको दोस्रो विधान महाधिवेशन टुंग्याउँदै ओलीले नयाँ पुस्ता राष्ट्रियताप्रति सचेत हुनुका साथै विधि–कानुनमा स्पष्ट बुझाइ राख्ने अपेक्षा आफूले राखेको बताए ।
साथै उनले आफू बन्द–हड्ताल वा प्रतिबन्धको पक्षधर नभएको दाबी गर्दै सामाजिक सञ्जाल अस्थायी रूपमा बन्द गरिएको सन्दर्भमा सरकारको निर्णयको बचाउ गरे । ओलीले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको उद्देश्य नरहेको उल्लेख गर्दै सरकारले दर्ताका लागि मात्र आह्वान गरेको स्पष्ट पारेका छन ।
सरकारले नेपालमा दर्ता नभएका फेसबुकसहितका २६ वटा सामाजिक सञ्जालमाथि पहुँच रोक्ने निर्देशन सेवा प्रदायकहरूलाई दिइसकेको छ । सरकारले सामाजिक सञ्जाल दर्ताका लागि तोकेको एक साताको म्याद नाघेपछि ती सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो । यस निर्णयको विरोध स्वरूप जेनजी पुस्ताले सडक आन्दोलन गर्ने घोषणा गरेका थिए ।