© २०२३
बुटवल, २२ भदौ ।
रुपन्देहीमा जारी २३ औं लिस्नु कप २०८२ प्रतियोगितामा फर्साटिकर एफसी र भैरहवा अञ्चलपुर युवा क्लब सिद्धार्थनगर विजयी हुदै सेमीफाईनमा प्रवेश गरेका छन । यशोदा फुड्स प्रालिको मुख्य प्रायोजन, तिलोत्तमा नगरपालिकाको सहप्रयोजन तथा लिस्नु युवा क्लबको आयोजनामा भएको खेलमा फर्साटिकरले देवदह ब्याईजलाई ४–२ गोल तथा भैरहवा अंचलपुरले सम्पुर्ण युवा क्लबलाई ७–४ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन ।
तिलोत्तमा नगरपालिका–१५, कोटिहवा स्थित पशुपति माविको खेलमैदानमा भएको खेलमा भैरहवा अंचलपुरको जितमा आशिष गुरुङले २, चन्दन दास, विजय सिह ठकुरी, उज्वल राईले १–१ गोल गरे । सम्पूर्णका पूर्ण बहादुर गुरुङले २ तथा गणेश हमाल र सजनराज गौतमले १–१ गोल गरे । सम्पूर्णका शालिक ढकाल रातो कार्ड पाउदै १० खेलाडीमा सिमित भएको थियो । खेलमा भैरहवाका आशिष गुरुङ प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

यसैगरि शुक्रबार भएको खेलमा फर्साटिकरको जितमा निरज चौधरी नायक बने उनि खेलमा प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए । आईतबार अन्तिम क्वाटरफाईनल खेल कपिलबस्तु–११ र अभिषेक चर्च रजहरका बिचमा हुने प्रचार संयोजक सुमन गुरुङले बताए ।
प्रतियोगिताको विजेता टिमले नगद ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ तथा उपविजेताले नगद २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक पदमबहादुर थापाले बताए । यसैगरि सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षकलाई १२ हजार ५ सय, सर्वाधिक गोलकर्तालाई १२ हजार ५ सय, राइजिङ खेलाडीलाई १२ हजार ५ सय र प्रत्येक दिनको सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार, अनुशासित टिमलाई आकर्षक ट्रफी प्रदान गरिनेछ ।
भदौ १४ देखी २७ गतेसम्म संचालन हुने प्रतियोगितामा आयोजक लिस्नु युवा क्लब तिलोत्तमा, झरना स्पोट्र्स क्लब तिलोत्तमा, फर्साटिकर एफसी, फर्साटिकर, भैरहवा अञ्चलपुर युवा क्लब सिद्धार्थनगर, सम्पूर्ण युवा क्लब तिलोत्तमा–१४, सुपौली, अभिषेक चर्च, रजहर नवलपरासी, गोर्खा ब्याईज बुटवल, देवदह ब्याईज खैरेनी, वालिङ–११ वालिङ नगरपालिका, पाल्पा–११ पाल्पा, नवलपरासी–११ नवलपरासी र कपिलवस्तु–११, कपिलवस्तु गरी १२ वटा टिमको सहभागिता रहेको छ ।