© 2026
लमही,२२ भदौ ।
गढवा गाउँपालिका वडा नम्बर ५ कक्रहवाकी जिबी बिकको घरको शिलान्यास भएको छ । अति विपन्न, असहाय र एकल महिलाहरूलाई लक्षित गरी आवास निर्माण गर्ने कार्यक्रम अनुसार बिकको घर बन्न लागेको हो ।
गढवा गाउँपालिकामा यस कार्यक्रम अन्तर्गत ४ वटा घर निर्माण गर्ने २०८२ भदौ ५ गते गढवा गाउँपालिकामा त्रिपक्षीय सम्झौता भएको थियो । यस अन्तर्गत गढवा गाउँपालिकाभित्र विभिन्न वडामा घर निर्माण गरिनेछ ।
गढवा गाउँपालिका, ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङ र निवास संस्था बिच साझेदारीमा अनुसारको सम्झौतामा गढवा गाउँपालिकामा सन २०२६ डिसेम्बर भित्र चारवटा घर निर्माण सम्पन्न गरिनेछ ।
ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको परियोजना अन्तर्गत ४ लाख २५ हजार रूपैयाँ, गढवा गाउँपालिकाको कार्यालयबाट २ लाख बराबरको सामग्री सहयोग, र घरमुलीको जनश्रमदान गरी ६ लाख ७८ हजार बराबरको लागतमा “एल आकारको घर” निर्माण गरिने केन्द्रकी अध्यक्ष आसमानी चौधरीले जानकारी दिइन ।
त्यसैगरी, परियोजनामार्फत गढवा गाउँपालिकाभित्रका १ सय ३० परिवारलाई लालपुर्जा प्राप्तिका लागि आवश्यक प्रक्रियाबारे साक्षरता अभिमुखी कार्यक्रम सञ्चालन गरिने सम्झौतामा उल्लेख छ ।
घर निर्माण हुन लागेकी प्रमीला चौधरी एकल महिला हुन् । छोरीको पढाइ खर्च जुटाउन उनी मजदुरी गर्दै आएकी छिन् । मजदुरी बाहेक अन्य आयस्रोत नभएकोले यो घर निर्माणले आफ्नो जीवनमा ठुलो राहत हुने उनले बताइन ।
यस्तै, गढवा गाउँपालिका वडा नं. ५ कक्रहवाकी जिवि बिकको पनि आवास निर्माण हुने भएको छ । माइतीले दिएको एलानी जमिनमा झुप्रो घरमा बस्दै आएकी बिकले अहिलेसम्म लालपुर्जा प्राप्त गर्न नसकेको बताइन ।
बर्सातको समयमा पानी चुहिएर रातभर सुत्न नसक्ने र सर्प लगायतको डर हुने गरेको उनले दुखेसो पोखिन । सो परियोजनाले गत आर्थिक वर्षमा पनि एकल महिलाका ६ वटा घर निर्माण गरेको अध्यक्ष चौधरीले बताइन ।
काठले बेरेको फुसको घरमै जिन्दगी बित्छ जस्तो लागेको थियो । दाङको राजपुर गाउँपालिका–१, कठबेह्रवाकी ३५ वर्षीया जानकी चौधरीलाई सामुदायिक वनछेउको यही घरमै दुःखजिलो गरेर गुजारा चलिरहेको थियो । १८ वर्षको उमेरमा मोतीलाल चौधरीसँग विवाह गरे पछिका डेढ दशक फुसकै घरमा बिते, खुशी र रमाइलोमै ।
मोतीलाल झ्यालढोका बनाउने मिस्त्री थिए भने जानकी पनि ज्यालादारीमा मजदूरी गर्थिन्। दुवैले ज्याला–मजदूरीबाट कमाएको पैसाले दुईकोठे बलियो घर बनाउने सपना देखेका थिए । जिन्दगी सोचे जस्तै कहाँ हुन्छ र ! एकाएक मोतीलाल बेहोश हुने, मांसपेशी बाउँडिने र खुम्चिने समस्याबाट पीडित बने । पति बारम्बार बेहोश हुन थालेपछि जानकीको दिनचर्या खलबलियो ।
मजदूरी गरेर जोगाएको पैसा उपचारमै सकियो । गाउँको स्वास्थ्य संस्थामा अत्तोपत्तो नलागेपछि गाउँघरबाट ऋण निकालेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइन् । चिकित्सकले मोतीलाललाई क्षारे रोग भएको बताए । केही समय उपचार त चल्यो, तर निको भएन ।
लामो समय यही रोगबाट पीडित मोतीलालले २०७९ माघ २४ मा संसार छोडे । त्यसपछि जानकीलाई झन् पीडा थपियो । दुई सन्तानको पालनपोषणको जिम्मेवारी त थियो नै, श्रीमान्को उपचारमा लागेको ऋण पनि उनकै थाप्लामा आइलाग्यो ।
अर्कातिर, गर्मीमा डढेलो र वर्षादमा पानीबाट जोगाउनुपर्ने घर थियो । “मर्मतसम्भार गर्ने पैसा थिएन, चुहिने घरमै बस्थ्यौं,” उनी दुई वर्षअघिको अवस्था सम्झिन्छिन् । उनको नाममा जग्गाजमीन पनि थिएन । त्यही घर पनि सामुदायिक वनछेउको ऐलानी जग्गामा थियो । पीरैपीरमा दिन काटिरहेका वेला केही महीनाअघि भने उनको जीवनले कोल्टे फे¥यो ।
“नयाँ घर पाएँ,” उनी भन्छिन् । फुसको घर भएको ठाउँमा भूकम्प प्रतिरोधात्मक टिनले छाएको पक्की घर ठडिएको छ । श्रीमान्को मृत्युपछि घर बनाउने सपना त्यागेको उनी सुनाउँछिन् । “पहिला त एउटा सपना थियो, घर बनाउने ।
पछि त एक्लै घर बनाउन सक्दिनँ ठानेकी थिएँ,” जानकी भन्छिन्, “मैले जीवनमा कहिल्यै यस्तो घर बनाउँछु भनेर कल्पना पनि गरेकी थिइनँ । अहिले सोचेभन्दा राम्रो र बलियो घर पाएँ, एकदम खुशी छु ।” घरकै पीडा थियो, राजपुर–२ की ६० वर्षीया निर्मला खत्रीलाई पनि । काठले बेरेको सानो टहरामा राति निद्रा पर्दैनथ्यो । दुई नातिनीलाई हुर्काइरहेकी निर्मला बादल गर्जिंदा डराउँथिन्, मन चिसो हुन्थ्यो ।
“पानी पर्दा नातिनीलाई कहाँ सुताउने होला भन्ने छटपटी हुन्थ्यो,” उनी सुनाउँछिन् । वडा कार्यालयले त्रिपाल दिएपछि चुहिने छाना ढाकेकी थिइन् । त्यसले थोरै राहत त मिलेको थियो, तर चिन्ता सकिएको थिएन । छोरा–बुहारीको झगडाले झन् समस्या निम्त्याउँथ्यो । उनको दिनचर्या झन् खलबलियो । साँझबिहान हातमुख जोर्न पनि समस्या हुन थाल्यो ।
“उमेर पनि ढल्कियो, काम पनि गर्न सक्दिनँ,” उनी भन्छिन्, “सामाजिक सुरक्षा भत्ताबाट जेनतेन छाक टार्थें ।” नयाँ घर बनाउने कुरा त उनको सपनामा पनि आउँदैनथ्यो । एकदिन नयाँ मान्छे आएर घर बनाइदिने कुरा गरेपछि उनले पत्याउनै सकिनन् । नभन्दै केही दिनमै नयाँ घर बन्यो ।
“मलाई त सपना जस्तो लाग्यो,” निर्मला खुशी हुँदै भन्छिन्, “साँच्चै नयाँ घर बनाइदिए । शान्ति मिलेको छ ।” जानकी र निर्मला जस्तै राजपुरकी देवा वली र कलावती यादवले पनि नयाँ घर पाएका छन्। नयाँ घर पाएपछि राजपुर–७, लैबरुवाकी देवा मख्ख छिन् ।
“हाम्रो घरमा फेरि खुशी आएको छ,” उनी भन्छिन् । उनलाई जानकी र निर्मलाको जस्तो पीडा थिएन । उनका पति विष्णु खत्री स्थानीय विद्यालयमा पढाउँथे । स्कूल नजीकै भाडाको घरमा बस्थे । दिनहरू खुशीसँगै बितिरहेका थिए । “एकाएक उहाँको किड्नी फेल भयो,” देवा सुनाउँछिन् ।
लामो उपचार पनि गरे । उपचारमा धनसम्पत्ति सकियो । उपचार गर्दागर्दै विष्णुको पनि ज्यान गयो । त्यसपछि भने जेठाजुको घरमा सरे । त्यहाँ पनि सहज भएन । “जेठाजुले जग्गा त दिए । तर घर बनाउन सक्ने स्थिति थिएन,” उनी भन्छिन्, “संस्थाका मान्छे आएर नयाँ घर बनाइदिए, अहिले त सजिलो भएको छ ।” त्यो संस्था हो, ग्रामीण महिला उत्थान केन्द्र ।
राजपुर गाउँपालिकासँगको सहकार्य र निवास संस्थासँगको साझेदारीमा केन्द्रले घर बनाइदिएको हो । १६ वर्ष मुनिका बालबालिका भएका एकल महिला तथा विपन्न परिवारका लागि पक्की घर बनाइदिएको केन्द्रकी अध्यक्ष आसमानी चौधरी बताउँछिन् ।
यो संस्थाले राजपुरसँगै गढवा गाउँपालिकामा पनि विपन्न परिवार र एकल महिलाका लागि घर बनाइदिएको छ । पक्की घर उनीहरूका लागि केवल एउटा संरचना नभएर विगतका कठिनाइ बिर्सिने माध्यम पनि बनेको छ ।
एकल महिलाका लागि नयाँ घर आत्मविश्वास र आत्मनिर्भरताको आधार पनि बनेको छ । “मैले कहिल्यै यति राम्रो घर पाउँछु भनेर सोचेकी थिइनँ,” राजपुर–५, चंगुवाकी कलावती यादव भन्छिन्, “अब यो घरबाट मैले नयाँ जीवन शुरूआत गरेकी छु ।”
साँच्चै कलावतीका लागि नयाँ जीवनको शुरूआत नै बनेको छ, नयाँ घ र सात वर्षअघि उनका श्रीमान्ले सम्बन्धविच्छेद गरे । त्यसपछि नाबालिका छोरी बोकेर माइतीघर पुगिन् । माइतीले आश्रय त दिए, तर आफ्नै घर भइदिए हुन्थ्यो भन्ने लागिरहेको उनी सुनाउँछिन् ।
उनका दाजु सुरेश यादवले जग्गा पनि जोडिदिएका थिए । सुरेशको घर नजीक रहेको १६ धुर जग्गामा नयाँ घर बनाउन भने सकेकी थिइनन् । “मैले पनि बनाइदिन सकेको थिइनँ, मेरो पनि आर्थिक अवस्था कमजोरै छ,” सुरेश भन्छन् ।
कलावतीको आयस्रोत नै सामाजिक सुरक्षा भत्ता थियो । त्यस बाहेक काम गरेर आउने पैसाले घरव्यवहार चलेको थियो। “सधैं भगवान्लाई पुकार्थें– त्यो जग्गामा सानो छाप्रो बनाउन पाऊँ,” उनी भन्छिन् । उनले सोचे जस्तै भएको छ, अहिले नयाँ घर बनेको छ ।
छोरीसँगै नयाँ घरमा बसिरहेकी कलावती अब ढुक्क भएको बताउँछिन् । “अब मेरी छोरी पनि आफ्नै घरमा बसेर पढ्नेछे,” उनी भन्छिन्, “मैले पढ्न नपाए पनि छोरीलाई पढाउँछु ।” कलावती जस्तै एकल महिलालाई घरको अभावले लामो समयदेखि निराश बनाएको थियो। आफ्नै पक्की घरले उनीहरूलाई सुरक्षित आश्रय मात्रै होइन, सम्मानजनक जीवनयापनको आधार पनि दिएको छ ।
केन्द्रकी अध्यक्ष आसमानी पनि अतिविपन्न परिवारलाई घर निर्माण गरेर आशा र आत्मविश्वास जगाउन खोजेको बताउँछिन् । आर्थिक रूपमा कमजोर महिला र बालबालिकालाई सुरक्षित आवासीय सुविधा पु¥याउने उद्देश्यले गाउँपालिकासँग समन्वय गरेर आठ वटा भूकम्प प्रतिरोधात्मक घर बनाएको उनी बताउँछिन् । उनका अनुसार गढवामा चार र राजपुरमा चार घर बनाइएका छन् ।
त्यससँगै पक्की शौचालय पनि बनाइएका छन् । चार वटा घर निर्माणमा संस्थाकै पूर्ण लगानी छ । बाँकी चारमा पनि संस्थाले तीन लाख र गाउँपालिकाले एक लाख ५० हजार रूपैयाँ सहयोग गरेका छन् । बाँकी खर्च घरधनीले बेहोरेका छन् । प्रतिघर ६ लाख ७८ हजार रूपैयाँ खर्च भएको छ । थप घर निर्माण गर्न स्थानीय सरकारसँग छलफल भइरहेको उनी बताउँछिन् ।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा सुरक्षित आवास परियोजनाले एकल महिलाको जीवनयापन र बालबालिकाको शिक्षामा सहयोग पु¥याएको बताउँछन् । अध्यक्ष शर्मा आगामी वर्ष सुरक्षित आवास कार्यक्रमलाई गाउँपालिकाले प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने बताउँछन् ।
“यो काम सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण हो, जसले गरीबी र असहाय अवस्था विरुद्ध सामुदायिक सशक्तीकरणको भावना जागृत गरेको छ,” उनी भन्छन् । त्यस्तै, राजपुर गाउँपालिकाका अध्यक्ष शरद बुढाथोकी पनि सुरक्षित आवास परियोजनाले बालबालिकाको शिक्षा र जीवनयापनमा सहजता ल्याएको बताउँछन् ।
यस परियोजनाले दैनिक व्यवहार र बालबालिकाको पठनपाठनमा सहयोग पु¥याएको बुढाथोकीको भनाइ छ । विपन्न परिवारको जीवनस्तर सुधार गर्न पालिकाबाट विभिन्न सीपमूलक तथा रोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने उनी बताउँछन् ।