© २०२३
नेपालगन्ज, २० भदौ ।
नेपालगन्ज रङ्गशालामा आज देखि नेपालगन्ज यु–१४ छात्र–छात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता सुरु हुँदै छ ।
प्रतियोगिताको उद्घाटन खेलमा वेस्टजोन मावि नेपालगन्ज र इन्टीग्रेटेड एकेडेमी खजुरा सैनिक बिच हुनेछ । दोस्रो खेल नेपालगन्ज मोडेल एकेडेमी र सिद्धार्थ विद्या सदन नेपालगन्जबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता आज देखि २७ गते सम्म चल्नेछ । प्रतियोगितालाई बाँके जिल्ला स्तरीय यु–१४ छनोट फुटबलको रूपमा लिइएको छ । प्रतियोगिताको विजेता टिमले प्रदेश स्तरीय प्रतियोगितामा बाँके जिल्लाको प्रतिनिधित्व गर्ने आयोजक बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष एवम् अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य भोजराज शाहीले बताए ।
बाँके जिल्ला फुटबल सङ्घको आयोजना र अखिल नेपाल फुटबल सङ्घको सहयोगमा हुन लागेको प्रतियोगिता स्वः खेलाडी अनुपम घलान, आदित्य बलम्पाखी, बिकल रेग्मी, दिवस बानिया, प्रियान्स आचार्य र साइमन योन्जनको स्मृतिमा आयोजना हुन लागेको हो । गत वर्ष असोज महिनामा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरीमा गएको पहिरोमा परी एन्फा एकेडेमीमा रहेका ६ जना खेलाडीको मृत्यु भएको थियो । प्रतियोगितामा छात्र तर्फ १७ विद्यालयको सहभागिता रहेको छ भने छात्रा तर्फ खेल तालिका केही दिन पछि सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला महिला फुटबल समिति अध्यक्ष नितु चन्द शाहले बताइन् । विद्यालय स्तरबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागेको उनले जानकारी दिइन् । प्रतियोगिताले बाँके जिल्लाको फुटबलको स्तर वृद्धिमा पनि सहयोग गर्ने उनले बताइन् ।
प्रतियोगिताको छात्र तर्फ समूह ‘ए’ मा वेस्टजोन मावि, इन्ट्रीग्रेटेड, नेपालगन्ज मोडेल एकेडेमी, सिद्धार्थ विद्यासदन, मैटहवा मावि सैनिक, ग्रीनपिस मावि, मनकामना मावि, ब्राइटल्याण्ड स्कुल रहेका छन् । समूह ‘बी’ मा सेन्ट थोमस, युनाइटेड एजुकेशनल, दिप ज्योती, होलिल्याण्ड, नेपालगन्ज सेन्ट जेभियर्स, बालज्योती, गुराँस चाइल्डहुड, कोहलपुर बागेश्वरी, शिखा एकेडेमी रहेका छन् ।