© २०२३
काठमाडौँ, २१ भदौ ।
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन संविधानले रोकटोक नगरेको स्पष्ट पारेका छन् ।
विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै देउवाले संविधानमा यस विषयमा स्पष्ट रूपमा निषेध नभएको बताए । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी हाल नेकपा एमालेको राजनीतिमा सक्रिय देखिएकी छन् । यद्यपि, एमालेले उनको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको छ ।
उता, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन भने नेकपा माओवादी केन्द्रको राजनीतिक गतिविधिमा खुलेर सहभागी भइरहेका छन् । संविधान संशोधनका सम्बन्धमा देउवाले दुई तिहाइ बहुमत आवश्यक पर्ने भएकाले दलहरूबीच छलफल भइरहेको जानकारी दिए ।
यसबाहेक, देउवाले हालको सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने वा नयाँ मन्त्री पठाउने विषयमा कुनै निर्णय नभएको स्पष्ट पारे । उनले मन्त्री फिर्ता लिनेबारे हालसम्म पार्टीमा छलफल नभएको समेत जानकारी दिएका छन ।