© २०२३
विवाह एउटा सामाजिक बन्धन र परम्परा हो । जहाँ दुई जनाको नाता मात्रै नभएर दुई परिवार बिचको पवित्र सम्बन्ध गाँसिन्छ । दुई परिवार, दुई संस्कार, दुई भूगोल, दुई सोच, दुई जीवनशैलीको सुगम हो बिहे ।
त्यसका लागि जात, कुल, घरान लगायतका कुराहरू मिल्नु आवश्यक मानिन्छ । म देखि परिवार र संस्कार मिल्नको लागि समय मिल्नुपर्छ नै होला । जन्म, मृत्यु र विवाह भगवानले लेखेको समयमा आउँछ । यो भनाई त्यसै भनिएको होइन होला । यहाँ म मेरै जीवनको एक भाग कोट्याउँदै छु ।
जहाँ म जन्मे हुर्के, बढेँ, समय बित्दै जाँदा त्यही ठाउँमा म बोझ जस्तै बनेँ । आज पनि बिहे अघिका केही पलहरू मेरा लागि असाध्यै पिडादायी थिए । यसो भनिरहँदा बिहे गर्ने हतार र बिपत्तै मन लागेर होइन ।
त्यो समयमा सुनेका तिता र नमिठा शब्दहरू हुन । सबैको मायामा पुलपुलिएर बितिरहेका जीवनमा एक्कासि नमिठा शब्दहरूले मन भत्भति पोलेर बनेका घाउका टाटाहरू अझै मनमै छन् । समाज र आफन्तको नाममा छोरीलाई हेलाको दृष्टिकोणले हेर्नेहरूको कमी थिएन ।
१७ वर्ष हुँदादेखि अर्को घरमा पठाउन हतार गर्नेहरूको लागि मेरी आमाले ठुलो युद्ध नै लड्नु परेको थियो । पढाई र कमाई गर्ने भएपछि मात्रै छोरी अन्माउने आमाको अडान नै मेरो लागि एक मात्र सहारा थियो त्यस बेला तर अरू सबैले पढे पनि अरूको घरमा जाने हो भन्दै खिसाउनेहरूको जमात एकातर्फ ठुलो हुल जस्तै थियो ।
अर्कोतर्फ मेरी साहसी आमा जसले छोरीले आफ्नो रोजाई र आफ्नो अनुकलनमा बिहे गरोस् भन्ने चाहना थियो । यो लडाई मेरो जीवन ३२ वर्षसम्म चलिरह्यो । यो बिचमा मेरो आफन्त र समाजले भनेका केही शब्दहरू अहिले पनि मनमा जरा गाडेर बसेका छन् ।
सानै उमेरमा बिहेको प्रतिवाद गरेकी मेरी आमाले पनि पछि उमेर बढ्दै जाँदा विभिन्न लाञ्छनाहरू सहनुप¥यो । त्यस बेला शारीरिक अस्वस्थतालाई पनि समाजले एउटा कारण हो भनेर अनुमान लगायो ।
कसैसँगको सम्बन्धले आफन्तको रोजाई नस्वीकारेको आरोप पनि थियो । यति मात्रै होइन धेरै अनुमान लगाएँ । कोही मिल्ने केटी साथीसँगको सम्बन्धलाई पनि नराम्रो कमेन्ट गर्न आफन्तहरू पछि परेनन् ।
बाटोमा हिँड्दै गर्दा यति धेरै प्रश्न तेर्सिए–बिहे कहिले गर्ने हो ? को सँग हो ? यस्ता प्रश्नले कहिलेकाहीँ त दिमागले पनि काम नै गर्दैनथ्यो । दिनहरू बित्दै गए । म उमेरले पाको बन्दै गएँ ।
समाजमा प्रगतिमा दुःखी हुने आफन्तहरूले अव त यसको बिहे श्रीमती मरेको, श्रीमती छाडेकोसँग हुन्छ, यसले बच्चा जन्माउन सक्दिन, बुढी भइसकी भन्दै भद्दा मजाकको पात्र बनाउनेहरूको कमी थिएन । यस्ता शब्दले मेरो मन अमिलो बनाउँदै थियो भने मेरी आमाको मनमा कस्तो आँधी हुरी चलेको थियो होला ? म कल्पना पनि गर्न सक्दिन ।
छोरीको बिहे गर्न नसकेर होला आफैसँग राखेको, छोरीको काम, कमाई खान होला जस्ता शब्द त दैनिक जस्तै सुन्न पाइन्थ्यो । पछि बिस्तारै आफूले असाध्यै माया गर्ने बुवा दाजुलाई पनि मेरो बिहे नभएकोमा मन भित्रभित्रै चिडचिडाहट भएको महसुस गरेँ । त्यो उनीहरूले गर्ने व्यवहार र बोलीले प्रष्ट देखाउँदै थियो ।
प्राण भन्दा पनि प्रिय हो छोरी भन्ने समाजसँग विद्रोह गर्दै छोरीलाई मेरो सम्पत्तिमा हक दिनुपर्छ भन्ने मेरो बालाई पनि मैले बिहे नगरेकोमा मनमनै रिस उठ्न थाल्यो । बहिनी घरको लक्ष्मी हो । जति पटक पढाइमा फेल भए पनि खुसी साथ स्विकार्ने मेरो प्रिय दाई लाई पनि मैले बिहे नगर्दा पीडा भयो । पीडालाई रिसमा बद्लेर बोलेको आज जस्तै लाग्छ ।
परिवार भित्रको अर्को सदस्य भाइ थियो । खै थाहा छैन, उसले कस्तो महसुस गरेको थियो । अहिलेसम्म सुन्न भ्याएको छैन । पहिले मलाई बिहे अनिवार्य हो जस्तो लाग्दैनथ्यो । तर, पछि सबैको व्यवहार परिवर्तन हुँदै गर्दा मलाई पनि बिहे गर्नुपर्छ, त्यहाँ पनि छुट्टै संसार छ भन्ने लाग्यो । तर, एउटा अठोट चाहिँ सधैँ मनमा थियो ।
मैले कसैले छाडेको मान्छेलाई श्रीमान् स्वीकार गर्नेछैन । यो ३०/३२ वर्षको उमेरमा कति धन सम्पत्ति भएका, उमेरले नेटो काटेकाहरूसँग बिहेको प्रस्ताव गर्नेहरू अझै वरिपरि छन् ।
सम्पत्ति भएपछि सुख हुन्छ जीवन भन्नेहरूको कमी थिएन तर म जहिले पनि आफू जस्तै कुमार केटो नै मेरो जीवनसाथी बन्नुपर्छ, त्यो पनि मेरा सबै अवगुणहरू झेल्ने सक्ने भन्ने अहमता थियो । यस्तो चाहना सुनाउँदा एक दुईजना मात्रै थिए– शुभकामना दिनेहरू अरू बाँकी सबैले यो कुरा कहिल्यै पूरा नहुने दाबी गर्दथे ।
तर, मलाई किन किन पूरा हुन्छ भन्ने विश्वास थियो । ममा सही समयको पखाई थियो । त्यो दिन आउँछ भन्ने थियो तर बिचरा नपढेर पनि सन्तानका लागि सही मार्गमा डो¥याउने मेरी आमालाई मनमा डर थियो–कतै छोरीको बिहे हुँदैन र समाजले भने जस्तै हुन्छ कि ? सबै आफन्तले हेला गर्छन् कि भन्ने पिर थियो ।
त्यसैले बेला बेलामा बिहे गर्नु पर्छ भन्ने कुरा सुनाउन पछि परिनन् । कति यस्ता मेला पर्वहरू छन् जहाँ मेरो बिहेको कुरा मात्रै हुन्थिए– फलानीले बिहे नै गर्ने भइन, किन होला ? के भएर होला ? कोही केटा कुरेर बसेकी होली, यस्तै कुरा सुन्दा पनि नजिकबाट माया गर्नेहरूलाई पिडा हुने ती आततायी दिन थिए ।
यसरी नै समय बित्दै थियो । एकाएक २०७५ साल माघ महिनामा मसँगै काम गर्ने उमेरले दिदी, सहकार्यले साथी, शुभचिन्तक जसले मलाई सधैँ असल देखेर मेरा लागि असल साथीको खोजी गर्ने गीता नेपाल । उनले आफ्नो साथीमार्फत मलाई बिहेको प्रस्ताव गरिन ।
मनमनै बिहे गर्नुपर्ने दबाब सहिरहेको म यो पाली केटो हेर्ने मन गरेँ । मिति ठ्याक्कै याद छैन तर पनि केटो हेर्न पुगेको पल याद छ । गोरो वर्ण, मिलेको हेन्सम केटो हेर्न बिहानै देवसिद्धचोकमा रहेकी गीता नेपालको साथी दिपाको घरमा पुग्यौँ ।
थाहा थिएन बिहे हुन्छ हुँदैन । तैपनि हेरौ भन्ने मनोभाव थियो । हेरेपछि सबै ठिकै, तैपनि बिहे न हो, बुझ्नुपर्छ भनेर केही समय लिएको हो । दिदी उषाकिरण र अमृता अनमोलले सबै कुरा हेर्दा देख्दा र कुरा गर्दा ठिकै मानेर बिहेको मिति तोकेको हो ।
उनीहरूले मेरो बिहेका लागि जुवा खेलेका हुन् । भए ठिकै हुन्छ नभए जीवनमा अनुभूति हुन्छ भन्ने यस्तै कुराले मलाई बिहे गर्न प्रोत्साहन गरेका हुन् । बिहेको मिति तोकिसक्दासम्म पनि मनमा एक प्रकारको डर, कौतुहलता, उत्सुकता थिएन ।
भए ठिकै, नभए पनि आफ्ना बाटाहरू धेरै छन्– बाँच्नका लागि भन्ने जस्तो कठोर मन लिएर समाज र परिवारको मुख बन्द गराउन बिहे गरेको हो भन्ने लागेको थियो । तर, समय मेरो सोचाई भन्दा फरक बनिदियो ।
३२ वर्षमा जोडिएको परिवार, श्रीमान् सोचे भन्दा धेरै फरक र मायालु पाएँ । अरूले भने जस्तो भएन । हेरुँला कस्तासँग बिहे गर्छे भन्नेहरूका लागि मुखभरीको जवाफ छ अहिले मसँग ।
अरूलाई भन्न र कुरा गर्न जति समय लाग्यो, मेरो मनले बिहे गर्ने निधो गरेको छोटो समयमा नै मैलै खोजे भन्दा पनि सयौँ गुणा राम्रो र असल जीवनसाथी पाएँ । जसको कारण अहिले म पूरै रङ्गिन दुनियाँमा, आफ्नै सुरमा रमाइरहेकी छु । म आफूले रहरले अपनाएको पेसामा कुद्न पाएकी छु । यसमा कसैको हस्तक्षेप छैन ।
सधैँ मेरो काम र कर्मलाई पुज्ने श्रीमान् छन् । मेरा हरेक कठिन समयमा हात दिइरहन्छन् । समाजका आफन्तरूपी दुष्मनहरूबाट मलाई बचाएर सतकर्म गर्न हौसला दिइरहन्छन् । बाँकी म, श्रीमान् र छोरीसँगै सुन्दर परिवार छ । यहाँसम्म आइपुग्दा बिहे कहिले, बच्चा कहिले भनेर बारम्बार प्रश्न गरेर हैरान बनाउनेहरू प्रति साधुवाद ।
साँच्चै जिन्दगीमा बिहे अनिवार्य हो भनेर बिहेका लागि सधैँ सकारात्मक ऊर्जा दिनेहरू सबैलाई मनैबाट धन्यवाद । विशेष धन्यवाद सासू आमा, स्व. ससुरा बुबाप्रति । जसले मेरा लागि असल श्रीमान् जन्माए । त्यसै गरी मेरी आमा जसले समाजमा धेरै चोटहरू मेरा लागि सहनुप¥यो ।