Butwal Today

देशभर सामान्य बदली, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

२१ भाद्र २०८२, शनिबार
अ+
अ-

काठमाडौँ, २१ भदौ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस प्रणालीको प्रभावले देशका पहाडी भूभागहरूमा सामान्य बदली, भने तराई तथा अन्य भूभागहरूमा आंशिक बदलीको अवस्था देखिएको छ ।

आज बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ ।

दिउँसो देशभर सामान्य बदलीको अवस्था रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानहरूमा तथा अन्य प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि कोशी प्रदेशसहित देशका पहाडी भूभागहरूमा सामान्य बदली तथा बाँकी भूभागहरूमा आंशिक बदली रहने अनुमान गरिएको छ । रातिको समयमा पनि पहाडी क्षेत्रका केही स्थानहरूमा र तराईका थोरै स्थानहरूमा मध्यम वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।