© २०२३
नेपालगञ्ज, २१ भदौ ।
‘ गोल्डेन ग्रयान्ड माँ –दौडिन्छन् हजुरआमा’ को उपाधि ५४ वर्षिया धनसरा बुढाले जितेकीछिन् । नेपालगञ्जमा शनिवार पहिलोपटक आयोजित ५० वर्ष माथिका महिलाहरूको विशेष दौड प्रतियोगितामा नेपालगञ्ज उपमहानगरपालिका २० नयाँ बस्ती थपुवाकी ५४ वर्षिया धनसराले पहिलो स्थान हाँसिल गर्दै प्रथम उपाधि जित्न सफल भएकी हुन् ।
प्रतियोगितामा सोही ठाउँकी ५१ वर्षीया नन्दमाया ओली द्वितीय र ५८ वर्षीया पद्मकला बुढा तृतीय भएका छन् । विजेता धनसराले प्रथम पुरस्कार स्वरूप २५ हजार रुपैयाँ मूल्यको साइकल, धारा तोरीको तेल तथा पौष्टिक खाद्यान्न पाएकी छन्। त्यस्तै, द्वितीय नन्दमाया ओलीले १५ हजार बराबरको साइकल र खाद्यान्न प्राप्त गरिन् भने तृतीय पद्मकलाले १० हजार बराबरको साइकल र खाद्यान्न पुरस्कार स्वरूप हात पारिन् ।
विजेताहरूलाई लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डे, कर्णाली प्रदेशका अर्थ मन्त्री राजीव विक्रम शाह, लुम्बिनी प्रदेशका पूर्वमन्त्री कृष्णा केसी नमुना, प्रदेश सभा सदस्य मिना श्रेष्ठ र अम्बिका काफ्ले लगायतका विशिष्ट व्यक्तित्वहरूले सम्मान गरेका थिए ।
दैनिक नेपालगञ्ज पत्रिकाको १५औँ वार्षिकोत्सवको अवसरमा आयोजित यो प्रतियोगितामा ५० वर्षमाथिका करिब दुई सय हजुरआमाहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। नेपालगञ्जको विपी चोकदेखि धम्बोझी चोकसम्म करिब १ किलोमिटर दुरीमा हजुरआमाहरू दौडिएको दृश्य विशेष आकर्षण बनेको थियो ।

पत्रिकाको सामाजिक उत्तरदायित्वसँगै स्वास्थ्य र सक्रिय जीवनशैलीलाई प्रवर्द्धन गर्ने उद्देश्यले “दौडिन्छन् हजुरआमा: गोल्डेन ग्रान्ड माँ परियोजना” मार्फत प्रतियोगिता सम्पन्न गरिएको परियोजना संयोजक सजल गैरेले जानकारी दिइन् । प्रतियोगितामा नाट्टा बाँके च्याप्टरको सह आयोजना र नेपालगञ्ज म्याराथनको सहकार्य रहेको थियो ।