© २०२३
काठमान्डौ, २० भदौ ।
नेपालमा दर्ता नगरेका सामाजिक सञ्जाल बिहीबार रातिदेखि बन्द हुने भनिए पनि शुक्रबार बिहानसम्म फेसबुक, एक्सलगायत सामान्य अवरोधबाहेक सञ्चालनमै रहेका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले २६ सामाजिक सञ्जाल (फेसबुक, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्सलगायत) तत्काल बन्द गर्न सेवा प्रदायकलाई निर्देशन दिए पनि कार्यान्वयन ढिलाइ भएको हो ।
सूचना अधिकारी रविन्द्रप्रसाद पौड्यालका अनुसार प्राविधिक कारणले अवरोध भएको हो । उनका अनुसार बन्दको निर्णय भएपछि फेसबुक सञ्चालक कम्पनी मेटा र एक्सले सञ्चार मन्त्रालयसँग अनौपचारिक रूपमा छलफल गरिरहेका छन् । पटकपटक गरेको प्रयासमा पनि उनीहरू नआएका कारण अन्तिम विकल्पका रूपमा बन्दको निर्णय गरिएको उनले जानकारी दिए ।
पौड्यालले सरकारको उद्देश्य रोकथाम नभएर नियम पालना गराउन भएको स्पष्ट पार्दै औपचारिक प्रक्रिया सुरु भएलगत्तै प्रतिबन्ध हटाइने बताए ।