© २०२३
सल्यान, २० भदौ ।
विद्यार्थीलाई अनुशासित, स्वावलम्बी र सामाजिक सेवा भावतर्फ अग्रसर बनाउनका लागि कपुरकोट गाउँपालिकाका विद्यालयहरूमा स्काउट दल गठनलाई तीव्रता दिइएको छ ।
विद्यार्थीलाई शैक्षिक ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक जीवनमा पनि सक्षम बनाउन सहयोग पु¥याउने उद्देश्य सहित स्काउटका गतिविधिलाई प्राथमिकताका साथ अघि बढाइएको हो ।
कपुरकोट क्षेत्रमा हाल पाँच वटा माध्यमिक विद्यालय रहेका छन् । सात वटा निम्न माध्यमिक विद्यालय, १२ वटा प्राथमिक विद्यालय र चार वटा निजी विद्यालयसमेत सञ्चालनमा रहेका छन् भने उच्च शिक्षाका लागि कपुरकोट बहुमुखी क्याम्पससमेत यहाँ सञ्चालनमा छ ।
११ देखि १५ वर्ष उमेर समूहका विद्यार्थीलाई लक्षित गर्दै गाउँपालिकाभित्रका विद्यालयहरूले छात्र स्काउट दल र छात्रा स्काउट दल गठन गरी नेपाल स्काउटमा दर्ता गरिरहेको नेपाल स्काउट स्थानीय स्काउट संयोजक आयुक्त हिमाकुमारी डाँगीले जानकारी दिए ।
कपुरकोट क्षेत्रको शैक्षिक गुणस्तरमा टेवा पुर्याउने र बालबालिकाहरूको शारीरिक मानसिक एवं बौद्धिक विकास गरी उनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकासको कार्यमा सहभागी गराउने उद्देश्यले स्काउट गठन गरिएको उनको भनाइ छ ।
पाँच वटा माध्यमिक विद्यालयहरू कालिका माध्यमिक विद्यालय कपुरकोट ३, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कपुरकोट ४ किमुचौर, जीवनज्योति नमुना माध्यमिक विद्यालय कपुरकोट ५ रिम, वीरेन्द्र मावि कपुरकोट २ गर्पा र भवानी माध्यमिक विद्यालय कपुरकोट ६ सल्यान तथा सिद्ध आधारभूत विद्यालय कपुरकोट ५ खाली, गायत्री आधारभूत विद्यालय कपुरकोट ४ गाँडापानी र सिद्ध आधारभूत विद्यालय कपुरकोट ६ ढाँर लगाएतका विद्यालयमा स्काउट दल गठन गरी दर्ता भैसकेको कपुरकोट स्काउटले जनाएको छ ।
स्काउट संयोजक आयुक्त डाँगीले भने, “बाँकी रहेका आधारभूत विद्यालयहरूमा पनि गठन गरी नेपाल स्काउटमा दर्ता गर्ने प्रक्रिया जारी रहेको छ ।” विद्यालयमा स्काउट गतिविधि प्रभावकारी बनाउन प्रत्येक माध्यमिक तथा निम्न माध्यमिक विद्यालयमा एकएक जना स्काउट शिक्षक तोकिएका छन् ।
यसले विद्यालय स्तरमै तालिम, अभ्यास र गतिविधि सञ्चालनमा सहजता ल्याउने अपेक्षा छ । यसबाट कपुरकोट क्षेत्रभित्रका विद्यालयहरूमा शैक्षिक प्रगतिमा समेत सुधार हुँदै गएको शिक्षकहरू बताउँछन् ।
गायत्री आधारभूत विद्यालय गाँडापानीका स्काउट शिक्षक शिवराज उदासले हाल विद्यार्थीलाई स्काउटको महत्त्व, गर्नुपर्ने काम लगायतका विषयमा जानकारी गराउने कार्य भइरहेको बताउँछन् । उनले भने, “विद्यालयमा नियमित तालिम, अभ्यास र समूहगत गतिविधि आगामी दिनमा सञ्चालन भएमा यसले पठनपाठनमा सकारात्मक प्रभाव पर्ने देखिन्छ ।
शिक्षक र विद्यार्थीबिच सहकार्य बढ्दै जाने र विद्यालयलाई थप व्यवस्थित अनि आकर्षक बनाउन स्काउट गतिविधिले योगदान पु¥याउने हाम्रो आशा छ ।”
विद्यालयमा स्काउट गतिविधि सुरु भएपछि विद्यार्थीहरूले प्राथमिक उपचार, वातावरण संरक्षण, सामाजिक सेवा, नेतृत्व अभ्यास जस्ता विभिन्न व्यवहारिक सीप प्राप्त गर्ने र यसले उनीहरूको आत्मविश्वास बढाउने, समुदायसँग सहकार्य गर्ने र देश विकासमा सक्रिय भूमिका खेल्न सक्षम बनाउने अपेक्षा गरिएको छ ।
स्वस्थ, सक्षम, सबल र अनुशासित जनशक्ति तयार पार्नका लागि स्काउटका गतिविधिलाई महत्त्वपूर्ण मानिन्छ ।